शुक्रबार, वैशाख १४, २०८१

‘पार्टीलाई विधि र पद्धतिमा हिँडाउन योगदान दिन्छु’

नेपालखोज २०७८ मंसिर २१ गते २०:२९

बुटवल । लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

नेता रानाले आज बुटवलमा पत्रकार सम्मेलन गरी जनजातितर्फको खुला केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् । उनले पार्टीलाई विधि, पद्धति, नीति, नियम तथा अनुशासनको मार्गमा हिँडाउन, सबैको समान पहुँच र अधिकार स्थापित गर्न आफूले केन्द्रीय सदस्यमा उम्मेद्‌वारी दिन लागेको स्पष्ट पारे ।

पार्टीको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ हुँदै वडा तहबाट जिम्मेवारी निर्वाह गर्दै आएका राना यसअघि दुई कार्यकालसम्म पाल्पा जिल्लाको पार्टी सभापति भएका थिए । उनले जिल्लास्तरको जिम्मेवारी क्षमताले भ्याएसम्म कुशलतापूर्वक पूरा गरेकाले आफू अब केन्द्रीय सदस्यको स्वभाविक उम्मेद्‌वार भएको उल्लेख गरे ।

समग्र लुम्बिनी प्रदेशको विकासलाई प्रभावकारी बनाउन, पार्टी पद्धति संस्कारयुक्त बनाउन, राजनीतिक दलमा देखिएको वितृष्णा हटाउन पनि आफ्नो उम्मेद्‌वारी रहेको उनको भनाइ छ । कांग्रेसलाई सशक्त जुझारु बनाउन, युवा पुस्तालाई राजनीतिमा क्रियाशील बनाउन रानाले सक्रिय भूमिका निर्वाह गर्दै आएकाले रानालाई केन्द्रीय सदस्यको उम्मेद्‌वार बनाइएको कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले बताए ।

यही मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुने कांग्रेसको १४औं महाधिवेशनमा आदिवासी जनजातितर्फको खुला केन्द्रीय सदस्यमा नेता रानालाई अगाडि सारेको जिल्ला सभापति श्रेष्ठले जनाए ।

प्रतिक्रिया