बुधबार, वैशाख १९, २०८१

३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्न कोइरालाको अपिल

नेपालखोज २०७८ मंसिर २३ गते २०:२२
फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रिय सदस्य तथा पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले पदाधिकारीमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्न अपिल गरेकी छन् ।

बिहीबार एक अपिल जारी गर्दै कोइरालाले संविधानमै महिलाको एक तिहाई सहभागिताको सुनिश्चिता गरेको स्मरण गराउँदै कांग्रेसले पदाधिकारीमा ३३ प्रतिशत महिलाको सुनिश्चितता गर्नुपर्ने बताइन् । उनले महिलालाई हरेक क्षेत्रमा समान सहभागिता गराउनु नैसर्गिक अधिकार रहेको बताउँदै कांग्रेसको नेतृत्वदायी निकायमा पनि महिलाको आधा सहभागिता सुनिश्चित हुनु आजको आवश्यकता रहेको औंल्याइन् ।

उनले कांग्रेसको विधानमा सभापतिसहित २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री र १ कोषाध्यक्ष गरी १४ पदाधिकारीको व्यवस्था रहेकोमा महिलाको सहभागिता कम्तिमा ३३ प्रतिशत सुनिश्चित हुनुपर्ने बताइन् । त्यस्तै, केन्द्रीय सदस्यमा पनि ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्नुपर्ने उनको भनाई छ ।

यो कदमले कांग्रेसको उचाई अझ बढ्न जाने बताउँदै कोइरालाले पार्टी नेतृत्वले तत्काल यसबारे निर्णय लिनुपर्ने बताइन् । उनले पार्टीको विधानमै महिलाको पदाधिकारीसहित केन्द्रिय कमिटीमा ३३ प्रतिशत सुनिश्चितताका लागि आफ्नाे अभियानमा साथ दिन सबैमा आग्रह गरेकी छन् ।

यो अभियान नेपाली कांग्रेसभित्र लैङ्गिक समानताको सुनिश्चितता मात्र नभई पार्टीलाई अझ प्रभावकारी र सशक्त बनाउनका लागि रहेको पनि उनले बताइन् । कांग्रेसको विधानमा लैङ्गिक समानता र समावेशीताका लागि चालिने कदमले नेपालको राजनीतिमा दूरगामी सकारात्मक प्रभाव पर्न जाने र यो मुलुककै सुन्दर भविष्यका लागि कोसेढुंगा सावित हुने उनको दाबी छ ।

प्रतिक्रिया