सोमबार, वैशाख २४, २०८१

रामचन्द्र पाैडेलले मैदान छाेडे

नेपालखोज २०७८ मंसिर २५ गते १५:०८

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारीबाट पछि हटेका छन् । आफ्नो समूहबाट साझा उम्मेदवार छनोटका लागि पहल गरिरहेका पौडेलले प्रकाशमानसिंहले छुट्टै प्यानलसहित सभापति पदमा उम्मेदवारी दिने भएपछि आफूले उम्मेदवारी नदिने घोषणा गरेका हुन् ।

पौडेल समूहबाट शेखर कोइरालाले पनि उम्मेदवारी दिने तयारी गरेका छन्। नेता पौडेलले प्रतिस्पर्धाबाट आफू अलग भए पनि आफ्नो विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पर्धाको आदर्श र मूल्यलाई जोगाउन कार्यकर्तालाई आग्रह गरेका छन् ।

यद्यपि, आफू एउटा इमान्दार र लोकतन्त्रवादी नेपालीको हैसियतमा पार्टी र राष्टमा देखिएका विकृति र गलत प्रवृत्तिविरुद्ध भने सधैं लडिरहने उनले विज्ञप्तिमार्फत जनाएका छन् । उनले पार्टी सत्ताको भर्‍याङमा सीमित नहोस् भनेर यसका संस्थापक नेताहरू बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले आदर्श र मूल्यका लागि जीवनभर संघर्ष गरेको स्मरण पनि उनले विज्ञप्तिमा गराएका छन् ।

चौधौँ महाधिवेशनसम्म आइपुग्दा आफूले अनेक प्रपञ्च भोगेको उल्लेख गर्दै उनले प्रजातन्त्रका मूल्य, मान्यता र आदर्श अँगालेर अथक प्रयत्न गरिरहँदा पनि पार्टी महाधिवेशनको मझधारमा आएर प्रतिस्पर्धाको मैदान छोड्नु पर्ने अवस्थामा पुगेको स्मरण गराए । उनले एउटा इमान्दार र लोकतन्त्रवादी नेपालीको हैसियतमा पार्टी र राष्ट्रमा देखिएका विकृति र गलत प्रवृत्तिविरुद्ध भने लडिनैरहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

“लोकतन्त्रको आस्था मनभरि भरिएका कांग्रेसजन र विशेषगरी नयाँ शिक्षित पुस्ताले नेपाली कांग्रेसलाई राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूल आदर्शमा स्थापित गर्ने प्रयास अघि बढाउनेछन् भन्ने मेरो अपेक्षा भने मेटिएको छैन,” उनले विज्ञप्तिमा भनेका छन्, “राष्ट्रिय राजनीतिमा मेरो भूमिका रहिरहनेछ । प्रतिस्पर्धाबाट म अलग रहे पनि आस्थावान् साथीहरूले आफ्नो विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पर्धाको आदर्श र मूल्यलाई जोगाउनु हुनेछ भन्ने शुभेक्षा व्यक्त गर्दछु ।”

प्रतिक्रिया