सोमबार, वैशाख २४, २०८१

कांग्रेस महाधिवेशन : उम्मेदवारी मनोनयन जारी

नेपालखोज २०७८ मंसिर २५ गते १६:०९

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी मनोनयन प्रक्रिया जारी छ । दिउँसो ३ बजेसम्म सभापति पदमा तीन जनाको उम्मेदवारी परेको छ । कांग्रेस सभापतिका लागि प्रकाशमान सिंह, कल्याण गुरुङ र युवराज न्यौपानेले मनोनयन गरेका छन् ।

उपसभापतिमा नेता महेश आचार्य र सुजाता कोइरालाले मनोनयन दर्ता गराएका छन् । यसैगरी महामन्त्रीमा अहिलेसम्म कसैको उम्मेदवारी परेको छैन भने सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा, बद्रीप्रसाद पाण्डे, फर्मुल्लाह मनसुर, सुरेन्द्र चौधरी र देवराज चालिसेले उम्मेदवारी मनोनयन गरेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

उनका अनुसार केन्द्रीय सदस्यतर्फ अपाङ्ग कोटामा छ, अल्पसङ्ख्यकमा दुई, मुस्लिम कोटामा नौ, थारुमा छ, दलित २३, महिला १३, खसआर्यतर्फ ३५ जना, आदिवासी जनजाति क्लष्टरबाट ४२ जना र खुलातर्फ ३५ जनाको उम्मेदवारी परेको छ ।

त्यसैगरी प्रदेश १ बाट चार, प्रदेश २ बाट दुई, लुम्बिनी प्रदेशका लागि नौ, गण्डकीका लागि छ, कर्णालीका लागि छ, सुदूरपश्चिम प्रदेशका लागि तीन, वाग्मतीका लागि चार तथा थारू कोटाबाट दुईजनाले उम्मेदवारी मनोनयन गराएका छन् ।

निर्वाचन प्रक्रियाको काम भृकुटीमण्डप र राष्ट्रियसभागृहबाट भइरहेको छ । विभिन्न २० स्थानबाट मनोनयन भइरहेको छ । कांग्रेस सभापति, उपसभापति र महामन्त्री पदका उम्मेदवारको मनोनयन एकै ठाउँबाट भइरहेको छ, भने केन्द्रीय सदस्य र प्रदेशको आरक्षणअनुसारका उम्मेदबारको फरकफरक गरी कुल २० स्थानमा मनोनयनको व्यवस्था गरिएको कांग्रेसले जनाएको छ ।

कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गर्नेक्रम जारी छ । त्यसैगरी, केन्द्रीय सदस्य खुल्लातर्फ दिलेन्द्रप्रसाद बडूले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया