बाबुको सिको, ७४ वर्षीया लौराको अन्तरिक्ष यात्रा !

नेपालखोज २०७८ मंसिर २६ गते १५:०५

काठमाडौं । संयुक्त राज्य अमेरिकाका प्रथम अन्तरिक्षयात्री एलन शेपर्डकी छोरी आफ्ना पिताको यात्रा पछ्याउँदै अन्तरिक्षमा पुगेकी छन् । जेफ बेजोसको ब्लू ओरिजिन नामक कम्पनीले अन्तरिक्षमा पठाएको एउटा व्यावसायिक यानमा सवार छ जनामध्ये शेपर्डकी छोरी ७४ वर्षीया लौरा शेपर्ड चच्ली पनि छन् । लौराका पिताले ६०वर्षअघि अन्तरिक्ष यात्रा गरेका थिए ।

चच्लीसहितका यात्रुले उपकक्षीय उडानमा केही बेर शून्य गुरुत्व पनि अनुभूति गर्न पाएका छन् । अन्तरिक्ष पर्यटनमा आफ्नो प्रभुत्व कायम गर्ने प्रयासमा रहेको ब्लू ओरिजिनले सन् २०२१ मा गरेको यो त्यस किसिमको तेस्रो उडान हो ।

सन् १९६१ को मे ५ मा फ्लोरिडाबाट उडेको मक्र्यूरी अन्तरिक्षयान चढेर एलन शेपर्ड अन्तरिक्षमा पुगेका थिए । उनको १९९८ मा मृत्यु भएको थियो ।अमेरिकी फुटबलका भूतपूर्व खेलाडी तथा ‘गुड मोर्निङ अमेरिका’ कार्यक्रमका प्रस्तोता माइकल स्ट्रेह्यान पनि उडानमा थिए । त्यसबाहेक चार अन्य यात्रुले पैसा तिरेर सो यात्रा गरेका थिए ।

एलन शेपर्डको सम्मानमा नामकरण गरिएको न्यू शेपर्ड रकेटमा भएका छवटै सीट भरिनेगरी ब्लू ओरिजिनले पहिलो पटक अन्तरिक्षयात्री पठाएको हो । तीव्र गतिको वायुका कारण उक्त अन्तरिक्षयान दुई दिन ढिलो उडेको थियो । ब्लू ओरिजिनले त्यसका लागि टेक्ससको भ्यान होर्नस्थित आफ्नो प्रक्षेपण केन्द्र प्रयोग गरेको थियो ।

उक्त उडानका लागि ब्लू ओरिजिनले पहिला प्रक्षेपण गरेका रकेटले प्रयोग गरेकै मार्ग प्रयोग भएको थियो । टेक्ससस्थित मरुभूमिमा अवतरण गर्दा अन्तरिक्ष पुगेर गरेर फर्केका यात्रुलाई बेजोसले स्वागत गरेका थिए ।

झन्डै १० मिनेटको उडानमा यात्रुहरू आकाशमा सय किलोमिटर माथि पुगेका थिए । यो यात्रा एलन शेपर्डको पहिलो उडानभन्दा पाँच मिनेट र १८६ दशमलव ७ किलोमिटर कम थियो । सो यात्रामा जाँदा लौराले आफ्ना बुवाले प्रयोग गरेको क्याप्स्यूलको एउटा सानो टुक्रा र पछि सन् १९७१ मा अपोलो १४ मा चढेर चन्द्रमामा पुगेको बेलाका केही चिनो लगेकी थिइन्।

गत महिना मात्रै ब्रिटिश राजकुमार विलियमले ब्लू ओरिजिनजस्ता अन्तरिक्ष पर्यटनको क्षेत्रमा कार्यरत कम्पनीका गतिविधिहरूको आलोचना गर्दै तिनले नयाँ पुस्तामा जलवायु परिवर्तनसम्बन्धी चिन्ता थपिदिने चेतावनी दिएका थिए ।
बीबीसी

प्रतिक्रिया