‘मेरो नेतृत्वमा पार्टी बने गठबन्धनको सरकार झनै सशक्त हुन्छ’

नेपालखोज २०७८ मंसिर २६ गते २०:३२

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोईरालाले नेतृत्व परिवर्तन भएरै छोड्ने बताएका छन् । आईतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सभापतिका उम्मेदवारसमेत रहेका कोईरालाले पार्टीमा नेतृत्व परिवर्तन भएरै छोड्ने बताएका हुन् ।

उनले आफ्नो नेतृत्वमा पार्टी बनेसँगै गठबन्धनको सरकार झनै सशक्त भएर निर्वाचनसम्म पुग्ने पनि दाबी गरे । नेता कोईरालाले आफ्नो नेतृत्वको पार्टी बनेमा अनुभवि नेताहरुको कुरालाई गम्भीर अध्ययन गरेर नेपाली कांग्रेसलाई सुदृढ बनाउने पनि बताए ।

उनले महाधिवेशन पछि केन्द्रिय, प्रदेश र स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई भागबण्डारहितको नेपाली कांग्रेस, गुटबन्दीरहितको पार्टी, विरोधरहितको नेपाली कांग्रेस बनाएर एक ढिक्का हुँदै सबैलाई समेट्ने बताए । उनले स्थानीय, प्रादेशिक र केन्द्रिय निर्वाचनमा पार्टीलाई नै जिताउने प्रतिवद्धतासमेत व्यक्त गरे ।

नेता कोईरालाले आफू सभापतिमा विजयी भए संविधानलाई सुदृढ बनाएर लैजाने समेत प्रतिवद्धता व्यक्त गरे । उनले अनुभव र उर्जासहितको सुदृढ नेपाली कांग्रेस बनाउने पनि बताए । नयाँ कार्यक्रम, नयाँ विचार र नयाँ कार्यशैलीबाट अगाडि बढ्ने भन्दै नेता कोइरालाले भातृ संस्थाहरुलाई सुदृढ गरेर अघि बढ्ने पनि बताए ।

प्रतिक्रिया