आइतबार, वैशाख २३, २०८१

प्रचण्डको प्रतिवादमा दीपकराज !

नेपालखोज २०७८ मंसिर २७ गते १४:१७

काठमाडौं । चर्चित कलाकार दीपकराज गिरीले आज सामाजिक सन्जालमा एउटा स्टाटस लेख्दै नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालको भनाइको प्रतिवाद गरेका छन् । गिरी भन्छन्- प्रचण्ड कमरेडको पुरानो महावाणी- बुर्जुवा शिक्षा सामन्तीहरूको शिक्षा हो !
यति भन्नाले धेरै मानिस अनपढ नै रहे र अहिले पनि पछुताइरहेका छन् ! उहाँकै कतिपय कार्यकर्ताहरू अहिले बूढेसकालमा स्कुल गएर त्यहि छुटेको पूरानो शिक्षा पढिरहेका छन् !
अहिले फेरि एक्कासि नयाँ महावाणी आयो
सेयर बजार सामन्तीहरूको बजार हो !!!
तपाईंले भने जस्तै कतिपयले कलकारखाना पनि नखोल्या हो र कमरेड ? तर अनावश्यक रूपमा तपाईंहरूले युनियनहरू गठन गरेर हड्ताल गराइ-गराई साहुजीहरूकै बाह्र बजाएर उठिबास नै लगाइयो नि होइन र ?
अब आफ्नै कुरा गरौं
फिल्म हल खोलौं भनेको त्यो ‘फिल्म’ भन्ने चिज पनि विलासितामा पर्ला कि नपर्ला ?
सामन्तीहरूको लिस्टमै परिएर भोलि फेरि अप्ठ्यारो पर्ला भनेर सोधेको मात्रै हो कामरेड !
कि ब्युटी पार्लर खोलौं त ? हुन त धनाढ्यका बूढीहरू, छोरीहरू जाने ठाउँ त्यो पनि पक्कै सामन्तवादी लगानीमै पर्छ होला ?
अब केमा लगानी गरौं त ?
अब ती खाइ-नखाइ गरेर लहैलहैमा भए पनि लागेर ४७ लाख डिम्याट खाता खोलेका नव सामन्तहरूलाई चाहिँ के गर्ने त कमरेड ? आफ्नो कमाइलाई कहाँ लगाउने त ? ताकि हाम्रो लगानी सामन्तवादी लगानी नहोस् !
प्लिज कमरेड भनिदिनुपर्‍यो !
तपाईंको लगानी कहाँ छ ? कि त्यहीँ लगानी गर्न प्रेरित गरिदिनुपर्‍यो । मलाई त सामन्त हुने मन फिटिक्कै छैन के गर्ने होला ?… कि यसो गरौं, विदेशी बैंकमै लगेर राखौं त कमरेड ? त्यसो गर्दा कसो होला ? जे जसरी हुन्छ मलाई सामन्त हुनबाट बचाउनुस् कमरेड म हातै जोड्छु ! मलगायत थुप्रै जनताले जय गाउनेछन् कमरेड !
लाल सलाम !!!

प्रतिक्रिया