शुक्रबार, वैशाख २८, २०८१

पन्जावकी सन्धुले कब्जा गरिन् मिस युनिभर्सको उपाधि

नेपालखोज २०७८ मंसिर २७ गते १४:५४


काठमाडौं । पञ्जाबकी हरनाज सन्धु मिस यूनिभर्सको उपाधि जित्ने तेस्री भारतीय युवती बनेकी छन् । भारतकी हरनाज सन्धूले मिस यूनिभर्स २०२१ को उपाधि जितेकी हुन् ।

सन् २००० मा भारतकी लारा दत्ताले उक्त उपाधि हात पारेकी थिइन्। लारा दत्ता मिस यूनिभर्स बनेको वर्ष नै हरनाज सन्धूको जन्म भएको थियो । मिस यूनिभर्स २०२० बनेकी मेक्सिकोकी आन्द्रेया मेजाले हरनाज सन्धूलाई उपाधि हस्तान्तरण गरिन्।

इजरेलमा मिस यूनिभर्सको ७०औँ संस्करण आयोजना गरिएको थियो । हरनाज सन्धू १७ वर्षको उमेरदेखि नै सुन्दरी प्रतियोगितामा सहभागी हुँदै आएकी छन्। पाराग्वे र दक्षिण अफ्रिकाका प्रतिस्पर्धीलाई पराजित गर्दै भारतको पञ्जाब निवासी हरनाज सिन्धू उत्कृष्ट ठहरिएकी हुन्।

मिस यूनिभर्स बनेपछि सन्धूले ईश्वर, घरपरिवार र मिस इन्डिया संगठनलाई धन्यवाद दिएकी छन् । प्रतियोगिताको टप थ्री चरणमा सबै प्रतियोगीलाई ‘वर्तमान समयमा दबाव खेपिरहेका युवा महिलाहरूलाई के सल्लाह दिन चाहनुहुन्छ ?’ भनेर सोधिएको थियो ।

उत्तर दिँदै हरनाज सन्धुले अहिलेका युवामा सबैभन्दा ठूलो दबाव स्वयंमा विश्वास गर्नु भएको भन्दै अरूसँग तुलना गर्न छोड्नुपर्ने बताइन् । यस्तै विश्वमा जे भइरहेको छ त्यसबारे कुरा गर्नु आवश्यक भएको बताएकी थिइन्।

उनले जवाफमा भनिन्, ‘बाहिर निस्किनुहोन्, आफ्ना लागि बोल्नुहोस् किनभने तपाईँ नै आफ्नो जीवनको नेता हो । म आफूमा विश्वास गर्छु, त्यसैले आज म यहाँ उभिएकी छु ।’टप फाइभ राउन्डमा उनलाई जलवायु परिवर्तनसम्बन्धी प्रश्न सोधिएको थियो ।

धेरै मानिसलाई जलवायु परिवर्तन मिथ्या हो भन्ने लाग्छ, तपाईँ उनीहरूलाई सम्झाउन के गर्नुहुन्छ ? भन्ने प्रश्न गरिएको थियो । उत्तर दिँदै उनले प्रकृतिमा आएको संकट देख्दा आफ्नो मन दुख्ने गरेको भन्दै अनुत्तरदायी व्यवहारका कारण त्यसो भएको बताइन्।

यो समय कुरा कम र काम बढी गर्ने भएको आफूलाई लागेको बताउँदै उनले प्रकृतिले मात्र हामीलाई जोगाउन सक्ने वा नष्ट गर्न सक्ने धारणा राखिन् । यसभन्दा अघि भारतबाट सन् १९९४ मा सुष्मिता सेन र २००० मा लारा दत्ता मिस यूनिभर्स भएका थिए ।

प्रतिक्रिया