शुक्रबार, वैशाख २८, २०८१

सभामुखले सापकोटाले खेलको अम्पायर जस्तै काम गर्ने

नेपालखोज २०७८ मंसिर २७ गते १५:३२

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद्को भोलि (मंगलबार) देखि सुरु हुने नियमित हिँउदे अधिवेशनको मुख्य एजेण्डा विधेयकमा केन्द्रित रहने बताएका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा अधिवेशनका लागि भएको तयारी जानकारी लिएपछि सञ्चारर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले अधिवेशनका लागि समग्र व्यवस्थापनकोसबै तयारी पूरा भएको जानकारी दिए ।

सभामुख सापकोटाले भने, ‘सदन सहमतिका साथ अधि बढाउन मैले तटस्थ, स्वतन्त्र र निष्पक्षरुपमा संविधान र प्रतिनिधिसभाको नियमावलीमा टेकेर काम गर्न प्रतिबद्ध छु । यस सम्बन्धमा जनतालाई प्रष्ट पार्दै लगेको छु, कहीँकतै अस्पष्टता भएमा व्यवहार र कामबाटै प्रष्ट हुनेछ ।’

सदनमा दलकै भूमिका निर्णयक हुने भएकाले खेलमा अम्पायर जस्तै सभामुखका हैसियतले सदन सुचारु भएपछि समन्वय र सहजीकरणको भूमिका देखिँदै जाने उनले बताए । उनले भने, ‘संविधान, कानूनले निर्दिष्ट गरेअनुरुप समन्वय र सहजीकरण गर्दै सदन अघि बढ्छ । प्राप्त भूमिका अनुसार कार्यव्यवस्था र दलको बैठक डाकेर सदन सुचारु गर्न हरसम्भव प्रहल र प्रयत्न हुनेछ ।’

यता नेकपा एमालेका सांसद गणेश पहाडीले स्वभाविकरुपमा हिँउदे अधिवेशनमा विधेयककैै विषयमा केन्द्रित रहेर अघि बढ्नुपर्ने प्रतिक्रिया दिएका छन् । उनले भने,‘हिउँदे भन्नेवित्तिकै विधेयक अधिवेशन हो, संसदमा पहिलेदेखिनै धेरै विधेयक थुप्रेर बसेका छन् । ती विधेयकलाई टुंगोमा पु¥याउनपर्नेछ, संसदमा टेबल भएका अरु विधेयकमाथि छलफल गर्न पर्नेछ ।’

संसद् भोलिबाट सुरु हुन लागे पनि कार्यव्यवस्थाको बैठक बसेर प्रमुख प्रतिपक्षसँग सदन सञ्चालन गर्ने र एजेण्डा तय गर्ने भन्ने सन्दर्भमा कुनै सल्लाह र छलफल नभएको बताउँदै नेता पहाडीले यस हिसाबले सत्तापक्ष फेरि पनि एकपक्षीय ढंगले सदन चलाउन खोज्छ कि जस्तो भान भएको प्रतिक्रिया दिएका छन् ।

सांसद पहाडीले सदनलाई कसरी नियमितरुपमा अघि बढाउने भन्ने सन्दर्भमा सत्तापक्ष र सभामुखले सहमतिका आधारमा नियमित तुल्याउन मुख्यरुपमा पहल र अग्रसरता लिनुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभा सदस्य रामनारायण विडारीले समयमा कानुन नबन्दा अनेकौ व्यवधान भएकाले संसद्को यो नियमित हिउँदे अधिवेशनलाई कानुन निर्माणमै केन्द्रित गर्न आवश्यक रहेको बताए ।

विडारीले अदालतले जनप्रतिनिधिको थलो संसद् क्रियाशील हुनुपर्छ भन्ने मान्यताकासाथ व्यूँत्याएकाले विधेयक पास गर्ने क्रममा सदन सक्रिय हुनुपर्ने जनाए । जारी भएका अध्यादेशलाई पारित गर्नुपर्ने उनको भनाई छ ।

संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले कोभिड–१९ को अहिले जोखिम कम देखिए पनि नयाँ भेरियन्टका कारण उच्च स्वास्थ्य सुरक्षामा ध्यान दिइने जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा दुवै सदनको अधिवेशन मङ्ङगलबार दिनको २ बजे बस्ने गरी यही मङ्सिर १७ गते आह्वान गरेकी थिइन् ।

प्रतिक्रिया