शनिबार, जेठ ५, २०८१

ग्लोबल आइएमई बैंकले १३.५ प्रतिशत लाभांश दिने

नेपालखोज २०७८ मंसिर २७ गते १९:४४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १५औं वार्षिक साधारण सभा सोमबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा सम्पन्न भएको छ ।

आर्थिक वर्ष २०७७/७८ को कुल मुनाफाबाट बैंकले आफ्ना सेयर धनीहरुलाई प्रस्ताव गरेको १० प्रतिशत बोनश सेयर र तीन दशमलव पाँच प्रतिश तनगद लाभांश गरी जम्मा १३ दसमलव पाँच प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गर्दै बैंकको १५ औंं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

बैंकले आर्थिक वर्ष २०७७/७८ मा सञ्चालन मुनाफा सात अर्ब नौ करोड रुपैयाँ र कर पछिको मुनाफा चार अर्ब १६ करोड रुपैयाँ आर्जन गरेको थियो ।

प्रस्तावित बोनश सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ पुग्नेछ । सभामा बैंकको सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७७/७८ को प्रतिवेदन प्रस्तुत गर्दे अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंक आफ्नो स्थापनाकालदेखि नै नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरुको परिपालना गर्दै आफ्ना शेयरधनीहरुलाई उचित लाभांश प्रदान गर्न कटिबद्ध रहेको बताए ।

बैंकले सदा झैं आफ्नो व्यावसायिक रणनीतिक योजना अनुरुप निक्षेप संकलन, कर्जा लगानी तथा व्यवसाय विस्तारका सन्तुलितरुपमा बैंकको उपस्थिती वृद्धि गर्दे जाने उनले बताए । कोरोना महामारीले अर्थतन्त्रमा पारेको प्रतिकुल प्रभावलाई न्यूनीकरण गर्न ग्राहकमैत्री अत्याधुनिक डिजिटल प्रविधिमार्फत सेवा प्रवाह गर्दे ग्राहकहरुलाई थप प्रभावकारी सेवा पुर्याउन लागि परेको पनि उनले जानकारी दिए ।

साथै, बैंकले अझै सर्वसुलभ बैंकिङ सेवा प्रदान गर्ने तथा राष्ट्र बैंकले २०७९/८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन वर्षकोरुपमा मनाउने घोषणा अनुसार देशैभर डिजिटल भुक्तानीका लागि बैंकिङ्ग साक्षरता कार्यक्रमहरु आयोजना गर्दे जाने पनि जानकारी गराए ।

यसका साथ साथै, अध्यक्ष ढकालले शेयरधनीको आकांक्षा अनुरुप आगामी दिनमा उच्च लाभांश प्रदान गर्न बैंक प्रयासरत रहेको समेत बताए । बैंकको खुद मुनाफा आ.व.२०७६÷७७ को तुलनामा आ.व.२०७७÷७८ मा ४३ दसमलव २० प्रतिशतले वृद्धि भई चार अर्ब १६ करोड रुपैयाँ पुगेको हो ।

हाल बैंकले दुई खर्ब ७४ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप संकलन गर्नुका साथै दुई खर्ब ७० अर्ब रुपैयाँ भन्दा बढी कर्जा लगानी गरेको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यका साथ बैंकले देशका ७६ जिल्लामा २८७ शाखा सञ्जाल तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय सहित ८५० भन्दा बढि सेवा केन्द्रबाट २७ लाख ग्राहकलाई प्रत्यक्ष बैंकिङ सेवा प्रदान गर्दे आएको छ ।

प्रतिक्रिया