मंगलबार, असार १७, २०८२

कांग्रेस सभापति पदको पुनः मतदान सम्पन्न

नेपालखोज २०७८ मंसिर २८ गते २२:१६

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि आज भएको पुनस् मतदान सम्पन्न भएको छ । दिउँसो ३ः३० बजेदेखि सुरु भएको मतदान निर्धारित समयभन्दा डेढ घण्टा ढिला राति ९ बजे सम्पन्न भएको हो । उक्त मतदानको मतगणना केही बेरमा सुरु हुने पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ५६४ ले मतदान गरेका छन् । सोमबारको तुलनामा आजको मतगणना सुरु गर्दा कम समय लाग्ने बताइएको छ । मतपत्र एकै किसिमको मात्र रहेको, मतगणना आचारसंहिता र गणक तयारी अवस्थामा रहेकाले तुरुन्तै मतपेटिका शिलबन्दी गरी मुचुल्का बनाएर गणना सुरु गरिने समितिले जनाएको छ।

सोमबार भएको निर्वाचनमा सभापति पदका प्रत्यासी कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि पार्टी विधानअनुसार सबैभन्दा बढी मत ल्याउने प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाबीच दोस्रो चरणको मतदान भएको हो ।

सोमबारको मतदानमा प्रधानमन्त्री एवं वर्तमान सभापति देउवाले दुई हजार २५८ र उनका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए ।

सभापतिका अन्य प्रत्यासी पूर्व महामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५० र केन्द्रीय सदस्य कल्याण गुरुङले २२ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया