सोमबार, जेठ ७, २०८१

सह-महामन्त्रीमा मिश्रित परिणाम, दुई संस्थापन र एक शेखर पक्षका

नेपालखोज २०७८ पुष २ गते १२:०९

काठमाडौं । नेपाली कांग्रेसको सह-महामन्त्री पदका ३ जनाको मतगणना सकिँदा मिश्रित परिणाम आएको छ । दुईजना संस्थापन पक्ष शेरबहादुर देउवा समूहका विजयी हुँदा एकजना डा. शेखर कोइराला पक्षका उम्मेद्‌वार सह-महामन्त्रीमा विजयी भएका छन् ।

महिला र आदिवासी जनजाति समूहमा देउवा पक्षका उम्मेद्‌वारले चुनाव जितेका हुन् । महिलामा महालक्ष्मी डिना उपाध्याय र आदिवासी जनजाति समूहका भीष्मराज आङ्देम्बे विजयी भए । शेखर समूहका दलित कोटाका उम्मेद्‌वार जीवन परियार पनि विजयी भए ।

महिला समूह

संस्थापन पक्षकी महालक्ष्मी उपाध्याय डिनासँग प्रतिस्पर्धी कमला पन्त पराजित भइन् । शेखर समूहबाट उठेकी कमलाले २१०६ मत ल्याइन् भने डिनाले २५३३ मत ल्याउँदै निर्वाचित भइन् ।

आदिवासी जनजाति समूह

संस्थापन पक्षका उम्मेदवार भीष्मराज आङ्देम्बेले विकास लामालाई फराकिले मतान्तरमा पराजित गरे । निर्वाचित आङ्देम्बेले २७११ मत ल्याए भने पराजित लामाले १९१२ मत ल्याए ।

दलित समूह

शेखर समूहबाट उठेका जीवन परियारले संस्थापन पक्षका मानबहादुर विश्वकर्मालाई पराजित गरे । निर्वाचित परियारले २२१२ मत ल्याए भने पराजित विश्वकर्माले २१२७ मत ल्याए । सूरुवातदेखि नै मानबहादुरले अग्रता लिएको दलित समूहमा जीवन विजयी बन्न सफल भए ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत पदाधिकारीमा अब पाँचजना सहमहामन्त्री र केन्द्रीय सदस्यहरुको मतपरिणाम आज बेलुकासम्म आउने निर्वाचन समितिले जनाएको छ । मधेसी, खसआर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्र समूहका सह-महामन्त्रीको मतगणना हुँदै छ ।

प्रतिक्रिया