शनिबार, असार २१, २०८२

रेष्टुराँ व्यवसायीले मूल्य बढाए

नेपालखोज २०७८ पुष ५ गते ७:१२

बागलुङ । खाद्यवस्तु, इन्धनलगायतको बजार भाउ बढेको जनाउँदै यहाँका रेष्टुराँ व्यवसायीले खाद्य परिकारमा मूल्य समायोजन गरेका छन् । हालै सम्पन्न रेष्टुराँ व्यवसायीहरुको बैठकले मःम र चाउमिनमा नयाँ दररेट कायम गर्ने निर्णय गरेको थियो ।

भेज, बफ मःम एक प्लेटको नयाँ मूल्य एक सय २० रूपैयाँ र चिकेट मःमको एक सय ४० रूपैयाँ तोकिएको छ । यसअघि भेज र बफ मःम प्रतिप्लेटको मूल्य एक सय रूपैयाँ थियो । चिकेन मःमको एक सय २० रूपैयाँ थियो ।

यस्तै भेज चाउमिन एक प्लेटको एक सय २० रूपैयाँ, बफको एक सय ५० रूपैयाँ र चिकेनको एक सय ७० रूपैयाँ दररेट कामय गरिएको छ । भेज चाउमिन आधा प्लेटको ६० रूपैयाँ, बफको ९० र चिकेनको एक सय रूपैयाँ मूल्य राखिएको छ । व्यवसायीले पाँच वर्षको अन्तरमा मःम र चाउमिनको मूल्य बढाएका हुन् ।

‘बजारमा सबैथोकको मूल्य बढेकाले रेष्टराँमा पनि त्यसको प्रभाव परेको हो, यो व्यवसायीको बाध्यता हो’ बागलुङ होटेल तथा रेष्टुराँ व्यवसायी सङ्घका अध्यक्ष निलेश राजभण्डारीले भने । उनका अनुसार रेष्टुराँमा बढी चल्ने मःम र चाउमिनमा मात्रै मूल्य थप गरिएको हो । अन्य परिकारको दररेट भने पुरानै यथावत छ ।

नयाँ दररेट आजैदेखि लागू भएको सङ्घले जनाएको छ । ‘पाँच/छ वर्ष भइसकेको थियो मूल्य नबढेको, रेष्टुराँ व्यवसायीहरुको माग अनुसार मूल्य समायोजन गरिएको हो’, उनले भने । बजारमा ग्यास, तरकारीदेखि दैनिक उपभोग्य वस्तुको मूल्य वर्षेनी बढ्दो छ ।

सङ्घको तथ्याङ्कअनुसार जिल्लाभर दुई सयभन्दा बढी रेष्टुराँ छन् । यसमा करोडौँमा लगानी छ भने सयौँले रोजगारी पाएका छन् । शहरी क्षेत्रमा रेष्टुराँ संस्कृति बढेसँगै स्तरीय रेष्टुराँ खुल्ने क्रम पनि उत्तिकै छ । रासस

प्रतिक्रिया