आइतबार, जेठ ६, २०८१

साफ उपविजेता टोलीलाई नगदसहित सम्मान

नेपालखोज २०७८ पुष ६ गते १४:५४

काठमाडौं । साफ फुटबल च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीलाई सरकारले नगदसहित सम्मान गरेको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो पटक फाइनलमा स्थान बनाउँदै उपविजेता भएको टोलीलाई जनही ५ लाख नगदसहित सम्मान गरेका हुन् ।

यस अघि १३ औं संस्करणको साफ उपविजेता भन्दै स्वदेश फर्किएको टोलीलाई सरकारले कात्तिक १ गतेको मन्त्रीपरिषदको निर्णयबाट जनही ५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो ।

सोही अनुसार सरकारले २३ खेलाडीलाई ५ लाख, तीन जना प्रशिक्षकलाई जनही ३ लाख र ४ अफिसियललाई प्रमाणपत्रसहित सम्मान गरेको हो । युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको सम्मान कार्यक्रममा मन्त्री महेश्वर गहतराज पनि सहभागी हुनु भएको थियो । साफ फुटबलको इतिहासमा पहिलो पटक फाइनल प्रवेश गरेको नेपाल भारतसँग पराजित भएको थियो ।

पुरस्कार वितरण पछि बोल्दै प्रधानमन्त्री देउवाले राष्ट्रका लागि पदक दिलाउने खेलाडीलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए । उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा परिचय बनाउन खेलाडीले गरेको मिहेनेतप्रति आभार व्यक्त गरे ।

कार्यक्रममा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी, कप्तान किरण चेम्जोङ र रोहित चन्द भने उपस्थित भएका थिएनन् । कप्तान किरण माल्दिभ्समा र रोहित इन्डोनेसियामा ब्यवसायीक फुटबल खेल्न जानु भएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह पनि नेपाल बाहिर रहेका छन् ।

प्रतिक्रिया