शुक्रबार, वैशाख २१, २०८१

कसको गोजीमा पैसा, कसको हुनेछ हात खाली ?

नेपालखोज २०७८ पुष ७ गते ८:०८

अंग्रेजी नयाँ वर्ष २०२२ सुरु हुनै लागेको छ । यतिबेला सबैले बितेको वर्षको समीक्षा र आउने वर्षको आशा-अपेक्षाका सम्बन्धमा विवेचना गरिरहेकै हुन्छन् । यसका साथ धेरैको नजर आफ्नो राशिले के भन्छ भन्ने कुरामा पनि हुन्छ चाहे त्यो मिलोस् वा नमिलोस् । सालको अन्त्य सँगै समस्याहरुबाट मुक्ति चाहनु जति स्वभाविक हो आउने वर्ष शुभ होस् भन्ने चाहना राख्नु उत्तिकै उचित हो । सफलताको शिखरमा रहे पनि, लगातार असफलताको स्वाद चाखे पनि जीवन संघर्ष हो र यसमा टिक्न लगातार लडिरहनुपर्छ । सफलतामा टिक्न संघर्ष, असफलतामा जित्न संघर्ष । कर्म र भाग्यको खेल पनि अजिबको छ । कर्ममा विश्वास गर्नेहरु कहिले भाग्यको शरणमा पर्छन् भने कतिपयचाहिँ भाग्यको भरोसा छाडेर कर्मतर्फ लाग्छन् । ज्योतिषशास्त्रले भाग्यको कुरा गरे पनि कर्मलाई कहीँ-कतै नकारेको छैन । नेपालीमा उखानै छ- भाग्यमा छ भन्दैमा डोकामा दूध अड्दैन ।

जे होस ज्योतिषशास्त्रले २०२२ का लागि सबै १२ राशिका लागि केही न केही अनुमान गरेको छ । ग्रह-नक्षत्र आदिको अवस्थितिअनुसार गरिएको यो भविष्यफलअनुसार विभिन्न राशिका स्वामीहरुको जीवनमा खास र महत्त्वपूर्ण परिवर्तन आउनेछ ।

मेष : वित्तीय स्थिरता कायम रहनेछ । केही महत्त्वपूर्ण काममा खर्च हुने सम्भावना छ । मूल्यवान् खरिददारी पनि हुनसक्छ । अप्रिलमा अप्रत्याशित लाभको योग छ । समझदारीपूर्वक लगानी गर्न सके सजिलै धन-आर्जन गर्न सकिनेछ । यो वर्ष मनोरञ्जन, मोज-मस्ती, यात्रा, बेकारको खरिदारी तथा उपहार आदिमा बढी नै खर्च हुन सक्छ ।

वृष : आर्थिक दृष्टिले वर्ष सन्तोषजनक रहनेछ । यो वर्ष अनेकौं आर्थिक अवसर प्राप्त हुनेछन् । सामाजिक प्रतिबद्धता तथा कुनै शुभ समारोहमा केही खर्च हुन सक्छ । यद्यपि भाग्यले साथ दिँदै धन वृद्धिमा सहयोग गर्नेछ । वर्षको मध्यतिर लामो अवधिको लगानी तथा अन्य वित्तीय योजना साकार हुनेछन् । सेप्टेम्बरको मध्यसम्म महत्त्वपूर्ण योजना तथा नयाँ सोचका साथ आफ्नो वित्तीय स्थितिलाई नयाँ उचाइमा पुर्याउन सफल भइनेछ ।

मिथुन : आर्थिक दृष्टिले वर्ष २०२२ ले वान्छित फल प्रदान गर्नेछ । व्यवसाय भावको स्वामी वृहस्पतिले करियर भावमा गोचर गर्नेछन्, परिणाम स्वरूप करियरमा निश्चित रुपमा लाभ हुनेछ । वृहस्पतिले सम्पत्ति वृद्धिमा मद्दत गर्नेछन् । अष्टम भावको शनिका कारण यसमा केही प्रयास भने गर्नुपर्नेछ । अक्टोबर-नोभेम्बरमा कहीँ कतै फसेको धन अप्रत्याशित रूपमा फिर्ता आउनसक्छ ।

कर्कट : आर्थिक दृष्टिले वर्ष शुभ रहनेछ । एघारौं भावमा राहुको उपस्थितिले बचतमा मद्दत गर्नेछ । यो वर्ष आफ्नो आर्थिक स्थितिमा सुधार ल्याउन गम्भीरपूर्वक जुटन सके राम्रो परिणाम हात लाग्नेछ । पारिवारिक आयोजनामा केही खर्च हुनसक्छ । ठूलो लगानीका लागि पनि समय अनुकूल छ ।

सिंह : वर्ष २०२२ आर्थिक दृष्टिले शुभ फल दिने खालको छ । आर्थिक स्थिति शानदार रहनेछ । पेसागत रुपमा उन्नतिका अवसरहरु जुटने हुँदा आम्दानीमा वृद्धि हुनेछ । ६ अप्रिलपछिको समय निकै शुभ फल दिने खालको छ । साथीभाइ, जीवनसाथी तथा पेसेवर साझेदारहरुको माध्यमबाट धन आर्जन गर्न सफल भइनेछ ।

कन्या : आर्थिक पक्ष बलियो हुनेछ । यो वर्ष तपाईंका लागि आर्थिक विकासमा मद्दत गर्ने वर्ष साबित हुनेछ । आर्थिक मामिलामा परिवारका सदस्य तथा मित्रजनबाट सहयोग जुट्नेछ । यो वर्ष खर्च पनि नियन्त्रणमा रहनेछ । आयको नयाँ स्रोत फेला पार्न सकिनेछ । कुनै महँगो वस्तुका साथै अचल-सम्पत्तिसमेत खरिद हुनसक्छ । आर्थिक लेनदेनमा भने सावधान रहनुहोला ।

तुला : आर्थिक दृष्टिले स्थिरता हासिल हुनसक्छ । तैपनि आफ्नो आर्थिक स्थितिका सम्बन्धमा सतर्क रहनुहोला । खासगरी वर्षको दोस्रो अर्धवार्षिकमा खर्च बढी हुनसक्ने भएकाले सावधानी अपनाउनु होला । समयमै बचतमा ध्यान दिनसके सम्भावित समस्याबाट जोगिन मद्दत मिल्नेछ । जनवरीदेखि अप्रिलसम्म आयको प्रवाह निरन्तर जारी रहनेछ । यो वर्ष आयको नयाँ स्रोत फेला पर्न सक्छ ।

वृश्चिक : आय-व्यय बराबर हुने खालको योग छ । यो वर्ष सोचेजस्तो बचत नहुन सक्छ । स्वास्थ्यमा पनि केही खर्च गर्नुपर्नेछ । कतै ऋण छ भने चुकाउने प्रयास गर्नुहोला । आयको नयाँ स्रोत फेला पर्नेछ । अचल सम्पत्ति जोड्ने सम्भावना कम छ । वर्षको पहिलो ६ महिना ठूलो लगानीबाट जोगिनुपर्नेछ । यो अवधिमा वृहस्पतिले धन-आर्जनमा मद्दत गर्नेछन् । शुभ कार्यका लागि केही खर्च गर्नुपर्ने हुनसक्छ । वृहस्पति चौथो घरमा गएर बसेका कारण चल-अचल सम्पत्ति हासिल हुनेछ ।

धन : २०२२ आर्थिक दृष्टिकोणले मिश्रित फल दिने खालको वर्ष साबित हुनेछ । शनिका कारण धन अर्जन गर्न सफल भइनेछ । आर्थिक स्थिति मजबुत हुने सम्भावना छ । धन सञ्चय तथा आभूषण एवं रत्न खरिदमा रुचि बढ्नेछ । पैतृक सम्पत्तिबाट लाभ मिल्ने देखिन्छ । कुनै पारिवारिक समारोहका लागि ठूलो खर्च पनि हुनसक्छ ।

मकर : आर्थिक रुपमा सुरक्षित महसुस गर्न सकिनेछ । यो वर्ष खर्च बढ्ने भए पनि आयमा समेत निरन्तरता रहनेछ जसले आय-व्ययबीच सन्तुलन कायम गरिरहनेछ । फजुल खर्च गर्नुको साटो लगानीमा जोड दिए फाइदामा रहन सकिन्छ । वर्षको सुरुवातमा आयको नयाँ स्रोत पत्ता लगाउन सकिनेछ । महँगा वस्तु खरिद हुनसक्छ भने अचल सम्पत्ति जस्तो जमिन, सवारीसाधन आदिमा समेत लगानी हुनेछ ।

कुम्भ : आर्थिक स्थिति राम्रो रहनेछ । यो वर्ष आय राम्रो भए पनि खर्चसमेत बढ्ने सम्भावना छ । यही कारणले वर्ष २०२२ मा अपेक्षा गरेअनुरुप धन सञ्चय नहुन सक्छ । यद्यपि यो वर्ष केही आभूषण तथा रत्न खरिद हुन सक्छ । सामाजिक तथा पारिवारिक आयोजनामा राम्रै खर्च गर्नुपर्नेछ ।

मीन : आर्थिक दृष्टिले वर्ष २०२२ राम्रो रहने सम्भावना छ । वर्षको मध्यतिर आफ्नो आर्थिक व्यवस्थामा ध्यान पुर्याउनुपर्ने आवश्यकता हुनसक्छ । त्यतिबेला आय बढे पनि आर्थिक बोझसमेत थपिनेछ । आफूले गरेको लगानीले फाइदा दिनेछ भने लगानीसम्बन्धी कानुनी मुद्दामा आफ्नै पक्षमा फैसला हुनेछ । सालको पछिल्लो ६ महिनामा विशेष सफलता हात लाग्नेछ भने आर्थिक स्थितिमा समेत सुधार आउनेछ ।
(यहाँ प्रस्तुत सूचना सामान्य मान्यता तथा जानकारीहरुमा आधारित छ । नेपालखोज अनलाइनले यसको आधिकारिकता पुष्टि गर्दैन ।)

प्रतिक्रिया