शनिबार, वैशाख २२, २०८१

यस्ता कार्य गर्दा हुन्छ मनोकांक्षा पूर्ण !

नेपालखोज २०७८ पुष १२ गते ५:००

हिन्दु धर्मशास्त्रअनुसार सोमबार भगवान् शिवको विशेष दिन हो । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ । शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताए पछि सकिन्छ । खाना बेलुकाको आरती सकिएपछि खाइन्छ । दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ । सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पूरा गर्ने विश्वास रहिआएको छ । त्यस्तै ज्ञान प्राप्ति हुन्छ । अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझ बढी छ ।

भगवान् शिवप्रति श्रद्धाभाव राख्दै निम्न पाँच काम गर्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।

– सोमबार भगवान शिवको दिन अर्थात् चन्द्रमाका दिनका रुपमा लिइन्छ। यस दिन बिहान सबेरै उठेर भगवान् शिवको दर्शन गरी शिव चालीसा या शिवाष्टकको पाठ गर्नाले भगवान शिव प्रशन्न भई समस्या समाधान हुने विश्वास गरिन्छ ।

– दाम्पत्य जीवनमा आउने उतार चढाव वा समस्या समाधानको लागि सोमबारको विहान सबेरै गौरी–शंकरलाई मनन गरी रुद्राक्ष शिव भगवानलाई अर्पर्ण गर्नाले मनले चिताएको पूरा हुने धार्मिक विश्वास छ ।

– बिहानै बेलपत्रमा सेतो चन्दनको टीका बनाएर शिवलिंगको पूजा गर्नाले पनि फलिफाप हुन्छ ।

– सोमबारका दिन आफ्नो पायक पर्ने शिव मन्दिरमा पुगेर शिवलिंगमा दूध चढाउनुपर्छ । उक्त दूध तामाको भाडामा ल्याएर आफ्नो व्यापार व्यवसाय गरेको ठाउँमा पूर्ण श्रद्धाका साथ छर्किदै ‘ॐ नमः शिवायः’ मन्त्रको जप गर्नाले व्यवसायमा श्रीवृद्धि हुने मान्यता राखिन्छ ।

– ‘ॐ नमो धनदाय स्वाहा’ मन्त्र कुनै शिव मन्दिरमा गएर रुद्राक्षको मालाले ११ पटक जप गर्नुहस् । यस मन्त्रको जप गर्नाले धन लाभ हुने धार्मिक विश्वास छ ।

प्रतिक्रिया