आइतबार, वैशाख २३, २०८१

‘उच्च मनोवल भएका नेपाली खेलाडीमा विश्वका खेल खेल्न क्षमता छ’

नेपालखोज २०७८ पुष १३ गते १६:३८

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले नेपाली खेलाडीहरु सबै प्रकारको खेल खेल्न सक्षम रहेको बताएका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी)को साधारणसभाको उद्घाटन गर्दै मन्त्री अथकले प्राकृतिक रुपमै उच्च मनोबल भएका नेपाली खेलाडीहरुमा विश्वका सबै प्रकारका खेल खेल्न सक्ने क्षमता रहेको बताएका हुुन् ।

एक फरक प्रसंगमा मन्त्री अथकले खेल क्षेत्रमा राजनीति गरिनु दुःखद भएको उल्लेख गरे । बिगतदेखि नै खेलाडीहरुलाई सत्ता निकटका व्यक्तिहरुले गलत रुपमा प्रयोग गर्दै आईरहेको जिकिर गर्दै उनले पछिल्लो समय खेल क्षेत्रमा ब्यापक राजनिती मौलाएकाले अपेक्षित उपलब्धी हासिल हुन नसकेको दावी गरे ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) का विषयमा हालै अदालतबाट आएको आदेशले खेल क्षेत्रको विकासमा दिर्घकालीन असर गरेको मन्त्री अथकले बताएका छन । ‘राखेपको सन्दर्भमा आदेश त अल्पकालीन थियो तर त्यसले खेलकुदमा दीर्घकालीन असर गरेको छ ।’ मन्त्री अथकले भने, ‘खेलकुदमा दीर्घकालीन असर गर्ने काम अदालतबाट हुने छैन भन्नेमा विश्वस्त छु ।’

समग्र खेल क्षेत्रलाई प्रभावित पार्ने मुद्धालाई प्राथमिकतामा राखेर हेरिनु पर्नेमा अदालतको ढिला सुस्तीका कारण खेलकुदमा दुर्भाग्यपूर्ण अवस्था सृजना भएको भन्दै मन्त्री अथकले असन्तुष्टि जनाए ।उनले खेलकुदमा दीर्घकालीन असर गर्ने काम अदालतबाट नहुने अपेक्षा समेत व्यक्त गरेका छन् । सरकारले राखेपका तत्कालिन सदस्यसचिव रमेशकुमार सिलवाललाई हटाएर टंकलाल घिसिङलाई सदस्य सचिवमा नियुक्त गरेको थियो ।

नियुक्तिको विषय अदालतमा पुगेपछि अदालतले दुवै पक्षलाई पुस १२ गते छलफलका लागि बोलाएको थियो । तर १२ गते समय अभावको कारण देखाउँदै मुद्धामाथी बहस भएन । उक्त मुद्धा अदालतले हेर्दाहेर्दैमा राखेको छ ।

प्रतिक्रिया