आइतबार, जेठ ६, २०८१

बलिउडका ठूला विवाद !

नेपालखोज २०७८ पुष १४ गते १८:४०

२०२१ को प्रारम्भमा मानिसहरुमा कति आशा-अपेक्षाहरु थिए ? कति खुसी लिएर आएको थियो नव वर्ष । २०२० मा कोरोनाको प्रकोपले मानिसहरु लाई यति त्रस्त्र बनाएको थियो कि उनीहरु चाँडोभन्दा चाँडो ती खराब दिन सकिएर नयाँ दिन वा नयाँ वर्षमा प्रवेश गर्न चाहन्थे । सबैमा के आशा थियो भने नयाँ वर्ष २०२१ मा सबै कुरा ठीक ठाउँमा आउनेछन् । कोरोना भाइरसले मानिसहरुको मुखमा चढाएको मास्क हट्नेछ र सबैको ओठमा मुस्कान देखिनेछ । मन्द भएको महामारी र भ्याक्सिनेसनका कारण केही हदसम्म त्यस्तै भयो पनि ।

यो वर्ष धेरै अफिसहरु खुले जुन अघिल्लो साल बन्द जस्तै भएका थिए । वर्क फ्रम होमले मानिसहरुलाई काममा केही बाधा पुर्याइरहेको थियो भने अफिस खुलेसँगै ती बाधा पनि हटेर गए । बलिउडको कुरा गर्ने हो भने यो वर्ष अघिल्लो वर्षको तुलनामा बढी चलचित्रले थिएटरको मुख देख्न पाए । रोकिएका कैंयन् चलचित्रको काम फेरि सुरु भए भने कैंयन अवार्ड शो सम्पन्न गरिए । सबैभन्दा महत्त्वपूर्ण कुरा केही नयाँ सर्तका साथ सिनेमाहलहरु खुला गरिए ।

यद्यपि सिने गतिविधि कम भए पनि बलिउडलाई विवादहरुले भने छोडेन । यो वर्ष सुरुदेखि अन्त्यसम्म अनेकौं विवाद खडा भइरहे । कसैका भिडियोले हंगामा खडा गरे त कसै माथि यौन शोषणको आरोप लाग्यो । कहीँ हिन्दु-मुस्लिमको मुद्दा उठ्यो भने कसै माथि देशद्रोहीको आरोप लगाइयो । हेरौं बलिउडमा शीर्ष स्थानमा रहेका २०२१ का केही ठूला विवाद, आरोप र बहसको सिलसिला :

राज कुन्द्रा केस
१९ जुलाईमा शिल्पा सेट्टीका पति तथा व्यवसायी राज कुन्द्रा पोर्न फिल्म बनाएको आरोपमा गिरफ्तार भई करिब २ महिनापछि जमानतमा रिहा भए ।

आर्यन खान ड्रग्स केस
मुम्बई क्रुज ड्रग्स केसमा एनसीबीले ३ अक्टोबरका दिन शाहरुख पुत्र आर्यन खानलाई गिरफ्तार गर्यो । केही दिन जेलमा बसेर रिहा भएका आर्यन अहिले पनि यो केसबाट मुक्त भइसकेका छैनन् ।

अनन्या पाण्डेलाई समन
अनन्या पाण्डेको नाम पनि ड्रग्स केससँग जोडियो । एनसीबीले उनीसँग लामो सोधपुछ पनि गर्यो ।

‘तान्डव’ माथि तान्डव
सैफ अली खानको वेब सिरिज तान्डवमा देखाइएको दृश्यले आफ्नो धार्मिक भावना आहत भएको भन्दै एफआईआरसमेत दर्ता भयो भने निर्माताहरुले सार्वजनिक माफी माग्दै सिरिजका केही दृश्य हटाएपछि यो विवाद साम्य भएको थियो ।

कंगना रनौतको ट्‌विट
४ मई मा ट्विटरले कंगना रनौतको एकाउन्ट बन्द गरिदियो । कंगना अनेकौं विषयमा गरिएका आफ्ना ट्‌विटका कारण लगातार विवादमा परिरहिन् । यसमा ममता बनर्जीप्रति गरिएको टिप्पणी, किसान आन्दोलनसम्बन्धी ट्‌विट, पप स्टार रिहानाका बारेमा गरिएको कमेन्ट, गायक दिलजितसँगको ट्‌विटर वार (झगडा) प्रमुख रहे ।

कलाकारको घरमा छापा
तापसी पन्नुलगायत अनुराग कश्यप र विकास बहलको घरमा आईटी डिपार्टमेन्टले छापा मार्यो । यो छापा ‘फेन्टम फिल्म्स’ को कर चोरीसँग जोडिएको थियो । आईटीले तापसीसहित अरुसँग बयान पनि लियो ।
यही वर्ष सोनु सुदको घरमा आय कर विभागले छापा मार्यो । चार दिन चलेको छापापछि सोनुमाथि २०करोड भारुको कर चोरी गरेको आरोप लगाइयो ।

कार्तिक र करणको कोल्ड वार
कार्तिक आर्यन र करण जौहरबीचको कोल्ड वारको परिणामस्वरुप कार्तिक करणको फिल्म दोस्ताना-२ बाट निकालिए । यो चलचित्रको छायांकन सुरु भइसकेपछिको कुरा हो ।

नाममा बबाल
करिना कपुर खान तथा सैफ अली खानले आफ्ना नवजात शिशुको नाम जहाँगिर राखेपछि उनीहरु सामाजिक सन्जालमा ट्रोल भए भने यसमा हिन्दु-मुस्लिमको मुद्दासमेत उठ्यो । यसैगरी करिना एउटा माइथोलोजी फिल्ममा सीताको भूमिका निर्वाह गर्ने कुराका कारण पनि विवादमा तानिइन् । यो विवादको विषय उनले मागेको पारिश्रमिक तथा उनले मुसलमानसँग गरेको विवाहलाई लिएर थियो ।

बोलेरै विवादमा
‘बिग बोस’ की पूर्वप्रतिस्पर्धी युविका चौधरी एक भिडियोमा एक समुदायप्रति जातिसूचक शब्द प्रयोग गरेका कारण विवादमा फसिन र उनका विरुद्ध एफआईआर दर्ता भयो । यसैगरी ‘तारक मेहता का उल्टा चश्मा’ कि बबिताजी अर्थात् मुनमुन दत्तामाथि पनि जातिसूचक शब्द प्रयोग गरेको आरोप लाग्यो । मुनमुनकाविरुद्ध पनि एफआईआर दर्ता गरियो तर पछि उनले माफी मागिन् ।

यौन शोषणको आरोप
टीभी स्टार पर्ल ली पुरीमाथि यौन शोषणक‍ो आरोप लाग्यो । उनी एक नाबालिग किशोरीविरुद्ध बलात्कारको आरोपमा गिरफ्तार भए । पर्ल ११ दिनपछि जमानतमा रिहा भएका थिए ।

अमित कुमारको टिप्पणी
‘इन्डियन आइडल १२’ का एक अतिथि गायक अमित कुमारले यो शोलाई लिएर अनेकौं कुरा गरे जसमा अतिथिहरुलाई प्रतिस्पर्धीको प्रशंसा गर्न बाध्य तुल्याइन्छ भन्ने कुरासमेत थियो । यो कुरालाई लिएर सोसल मिडियामा इन्डियन आइडलको मजाक उडाइयो ।

ज्याकलिन र नोराको करामत
ज्याकलिन फर्नांडिसको नाम आर्थिक अपराधमा गिरफ्तार सुकेश नाम गरेका विवाहित पुरुषसँग जोडिएर आयो । सुकेशले ज्याकलिनलाई करोडौंको उपहार दिएको देखि लिएर सुकेश र उनको अन्तरंग तस्बिर यो हंगामाको विषय रह्यो । यसैगरी नोरा फतेही पनि यही मामिलामा तानिइन र दुवैजना ईडीको अफिसको चक्कर काट्न बाध्य भए ।

पनामा पेपर्स विवादमा ऐश्वर्या राय
सालको अन्त्यतिर ऐश्वर्या राय बच्चनको नाम पनि विवादमा तानियो र त्यसको कारण ‘पनामा पेपर्स’ थियो । यो विषयमा ईडीले ऐश्वर्यासँग सोधपुछ गर्यो । ऐश्वर्याले फरेन एक्सचेन्ज म्यानेजमेन्ट ऐक्टअन्तर्गत बयान दिएकी थिइन् ।

प्रतिक्रिया