सोमबार, वैशाख १७, २०८१

तो-ल्होसारबै आशिमलाँ !

सुनील उलक २०७८ पुष १५ गते १२:१७

आज ल्होसार तमुहरुको नयाँ वर्षको शुभारम्भको दिन । यसैले सबैभन्दा पहिले सम्पूर्ण तमु मित्रहरुमा तमु ल्होसारको शुभकामना । यस वर्ष ‘ल्वों ल्हो’ गाई वर्गलाई बिदाइ गर्दै ‘तो ल्हो’ बाघ वर्गलाई स्वागत गरिन्छ ।

तमु पोसाक
गुरुङ भाषामा एउटा भनाइ छ, ‘पे म्ह्स्या छ्या म्हमु, छ्या म्हस्या ल्हु म्हमु, ल्हु म्ह्स्या म्हि म्हमु’ अर्थात शास्त्र हराए, संस्कृति हराउँछ, संस्कृति हराए, परम्परा हराउँछ, परम्परा हराए, मान्छे नै हराउँछ । तसर्थ हरेक जातिले यो कथनलाई स्वकार्नुपर्छ । केवल तमूहरुका लागि मात्र यो सत्य होइन अन्य जातिका लागि पनि यो सत्य भनाइ हो । यसर्थ तमुहरुको पहिरनको विषयमा विभिन्न स्रोतहरुबाट प्राप्त तथ्यलाई यहाँ राखेको छु । कतै गल्ती भएमा उल्लेख गरिदिनुहोला ।

तमु पुरुषहरुको पहिरन
तमु पुरुषहरुको पहिरनमा सुरुमा कछाड जसलाई गुरुङ भाषामा ‘कास’ भनिन्छ, कमरमा बेरेर दक्षी (किनारा) ले घुँडासम्म छोपिने गरी बाँधिन्छ । त्यसपछि म्हेन्दु (पटुकी) ले कसिन्छ । अचेल लाहुरे प्रभावले गर्दा सिंगापुरे पेटीले कस्ने गरिन्छ । यही म्हेन्दुमा पछाडितर्फ हो भने कोरे (आँसी वा खुर्पेटो) अगाडितर्फ भने क्होच (खुकुरी) भिर्ने चलन छ । तर दुवै (खुकुरी र खुर्पेटो) भिर्ने भने गरिँदैन । शरीरको माथिल्लो भागमा भने आधा बाहुला भएको पाँलु (भोटो) लगाउने गरिन्छ । पाँलुको माथिबाट आस्कोट लगाइन्छ । आस्कोटको माथि हेङ (भाङ्ग्रा) लगाउने गरिन्छ । भाङ्ग्रा कपडालाई दुई गाँठो बाँधेर बनाइन्छ । यसरी बनाइएको दुई गाँठोमा दाहिने गाँठो माथि पार्नुपर्छ । बायाँ गाँठोलाई तल पार्नुपर्दछ । यसपछि टाउकोमा क्रेगी (फेटा) वा पुले/मल्खु (टोपी) लगाउने गरिन्छ । उहिले जाडोमा ओढ्न र ओछ्याउन मिल्ने प्हङ्ली (धुमराडी) पनि हातमा बोक्ने गरिन्थ्यो ।

कानमा लगाउने डलम्हार (कुण्डली) को प्रचलन हराइसकेको छ । उहिले खुट्टामा केही लगाउने गरिँदैनथ्यो । तर अचेल आधुनिकतासँगै मोजा र कप्स्या (जुत्ता) लगाउने गरिन्छ । यसरी पुरुषको पहिरन पूरा हुने गर्दछ ।

महिलाको पहिरन
पुरुषको तुलनामा महिलाको पहिरन बढी आकर्षक हुने गर्छ । साथै महिलाको पहिरनमा धेरै किसिमका सामग्री हुने गर्दछ । महिलाहरु कमरभन्दा तल ङ्योए (गुन्युँ) लाई अगाडि मुजा पारेर बाँधिन्छ । गुन्युँ माथिबाट तमला (टिकिस) बाँधिन्छ । टिकिस बाँध्दा त्रिभुज आकारमा पछाडी तल तिर चुच्चो बनाएर अगाडि कम्मरमुनि पर्ने गरी बाँधिन्छ । शरीरको माथिल्लो भागमा पाँलु (आधा बाहुले चोली) लगाइन्छ । यसरी चोलो लगाइसकेपछि चोलो र टिकिसलाई समेत बाँधिने गरी म्हिन्दु फगी (पटुका) ले कसिन्छ । शिरलाई क्रमु (मजेत्रो) ले छोप्ने गरिन्छ । साथै पाँलुलाई प्रोओ (घलेक) तथा खुट्टामा कप्स्या (जुत्ता) लगाउने गरिन्छ ।

गहनाको विषयमा भने शिर, गला, हात, नाक तथा कानमा गहना लगाउने गरिन्छ । शिरमा सबैभन्दा माथि माराट (शिरफूल), निधारमा झेका (शिरबन्दी), कानमा ढुँरी (ढुङ्ग्री), नाकमा फुली वा बुलाकी, योका (चुरा), औलामा माराच्या (सुनको औठी) लगाउने गरिन्छ । घाँटीमा भने माला धेरै किसिमको लगाउने गरिन्छ । मारारुङ (सुनको जन्तर), पिरुकूर (मुगाको माला), काँज्यू मारा (पोतेको माला), आसे (तिलहरी), असर्फी, नौगेडी आदिको माला पनि लगाउने गरिन्छ ।

No description available.

यी पहिरनमा कतिपय पहिरन अब नामको मात्र रहेको छ । विदेशबाट आयात गरिएको वा आयातित कपडाबाट बनाइएको हुन्छ । पहिले-पहिले महिलाहरुले आफ्नै हातले निकै सीपसँग बनाइएका पुरुषका पोसाकहरु सोल्टीले उपहार पाउँदा भावनात्मक रुपले निकै निकट हुने गर्दथ्यो । ती पोसाक लगाउँदा सोल्टीनीको सम्पूर्ण माया पाएको अनूभुति हुने गर्दथ्यो । सोल्टीनीहरु पनि आफ्नो मन परेको सोल्टीका लागि विशेष बुट्टाहरु राखेर मिहिनेतका साथ भाङ्ग्रा बनाएर उपहारमा दिने गर्दथे । भाङ्ग्रामा लामो धागो प्रयोग गरेर धागो जतिकै लामो आयु रहोस् भन्ने कामना गरिन्थ्यो । निरोगी रहोस् भनेर भाङ्ग्रा ओढाइदिइन्थ्यो । अचेल कसले बनाउने भाङ्ग्रा ? तयारी भाङ्ग्रा किनेर ल्यायो लगायो ।

त्यस्तै सोल्टीनीहरुलाई पनि मजेत्रो उपहार दिइन्थ्यो । जसमा भावनात्मक सम्बन्ध गाँसिएको हुन्थ्यो । त्यसैले मजेत्रोलाई सधैं शिरमा राखेर माया तथा प्रेम पनि शिरमै रहेको जनाइन्थ्यो । तर अचेल तमु महिलाहरुको पोसाक भने अन्य जातिले पनि माया र सद्भावका साथ लगाउने गरेको देखिन्छ । यसर्थ आफ्नो संस्कार र संस्कृति जोगाउन तमुका नयाँ युवायुवतीहरु पनि उतिकै अगाडि रहने आशा राख्न सकिन्छ ।

प्रतिक्रिया