कांग्रेस सशस्त्र क्रान्ति र मेलमिलापको नीति (भिडियो सामग्री)

नेपालखोज २०७८ पुष १७ गते ०:५४

काठमाडौं । निरंकुश शासन सत्ताविरुद्ध इतिहासमा तीन-तीन पटक सशस्त्र क्रान्ति चलाएको अनुभव नेपाली कांग्रेससंग छ । पहिलो पटक २००७ मा कांग्रेसकै नेतृत्वमा भएको शसस्त्र क्रान्तिले १०४ वर्षे राणा शाहीको अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापना ग¥यो । त्यसमा उसले चलाएका दुई वटा क्रान्ति असफल भए । यसपछि पनि व्यवस्था विरुद्ध कांग्रेसको लडाँइ निरन्तर रह्यो । तर २०३३ साल पुष १६ गते स्व.बीपी कोइरालाले लिएको नीतिको अझै पनि चर्चा हुने गर्छ ।

यसको पक्ष र विपक्षमा अझै पनि बहस हुने गर्छ । तर बीपीको यो नीतिले नेपाली कांग्रेसलाई हिंसात्मक बाटोबाट सदाका लागि शान्तिपूर्ण राजनीतिमा ल्यायो । अहिलेको गणतन्त्र स्थापनामा बीपीको मेलमिलाप नीति नै जग हो भन्नेहरु पनि छन् । के थियो त नेपाली कांग्रेसले विभिन्न समयमा गरेको सशस्त्र बिद्रोह र मेलमिलापको नीति यसबारे यो भिडियोमा थोरै चर्चा गरेका छौँ । नेपाली कांग्रेस र सशस्त्र क्रान्तिका विषयमा विद्यावारिधि गरेका प्राध्यापक गोविन्दमान सिंह कार्कीको भनाइलाई आधार मानेर बनाइएको भिडियो सामग्री ।

“नेपाली कांग्रेसको नेतृत्वमा राणा शासनविरुद्ध पहिलो शसस्त्र क्रान्ति भएको थियो २००७ सालमा । त्यो शसस्त्र क्रान्ति उत्कर्षमा थियो । वीरगञ्ज विराटनगर लगायत प्रमुख शहरहरुमा कांग्रेसको मुक्ति सेनाले कव्जा जमायो । तत्कालीन राजा त्रिभुवन गद्दि छोडेर भारतको शरणमा पुगे । अनि भारतीय प्रधानमन्त्री जवाहलाल नेहरुको मध्यमार्गी नीतिअनुसार राजा, राणा र कांग्रेसबिच त्रिपक्षीय संझौता भयो । त्यही सम्झौताअनुसार राणा शासन अन्त्य भयो र मुलुकमा प्रजातन्त्र स्थापना भयो ।

दुई वर्षभित्र संविधानसभा निर्वाचन गराएर मुलुकलाई राजनीतिक रुपमा निकास दिने त्यो सहमतिको मार्गचित्र अनुसार राणा कांग्रेस संयुक्त सरकार बन्यो । तर तत्कालिन राजाले संविधानसभा चुनाव टार्दै लगे । अनि कांग्रेसको नेतृत्वमा भद्र अवज्ञा आन्दोलन भयो । अनि राजा २०१५ सालमा संसदको चुनाव गराउन राजी भए । देशमा पहिलो पटक भएको आम निर्वाचनमा कांग्रेसले दुई तिहाई बहुमत प्राप्त ग¥यो, बीपी कोइरालाको नेतृत्वमा । बीपी पहिलो जननिर्वाचित प्रधानमन्त्री हुनु भयो । सरकार गठन भएको डेढ वर्ष पुग्दा नपुग्दै तत्कालीन राजा महेन्द्र र प्रधानमन्त्री बीपीकाबिच द्वन्द्वको अवस्था सृजना भयो । दलहरुलाई नियन्त्रणमा लिने योजनाअन्तर्गत राजाबाट सैन्य बलमा २०१७ पुष १ गते जननिर्वाचित सरकार र संसद भंग भयो ।

प्रधानमन्त्रीसहित वरिष्ठ नेताहरुलाई जेल हालियो । त्यो बेला व्यक्तिगत कामको सिलसिलामा सरकारका उपप्रधानमन्त्री सुवर्णशमशेर राणा भारतमा थिए । पक्राउ पर्नबाट जोगिएका नेता कार्यकर्ताहरुको पटनामा सम्पन्न भेलाले सुवर्णशमशेर राणालाई कार्यवहाक सभापतिको जिम्मेवारी दियो । त्यही भेलाले शाही कु विरुद्ध शसस्त्र क्रान्तिको घोषणा ग¥यो । डेढ वर्ष चलेको क्रान्तिका क्रममा जनकपुरमा राजा महेन्द्रमाथि दुर्गानन्द झा र अवविन्द ठाकुरले वम प्रहार गरे । देशभर ‘हिट एण्ड रन’ अर्थात हान र फर्क भन्ने रणनीति अन्तर्गत पञ्चायत विरुद्ध कारवाही चलाइए ।

यसबिच भारत र चीनबिच युद्ध भयो । त्यो परिस्थितीमा कार्यकारी अध्यक्ष सुवर्णशमशेर राणाले २०१९ कात्तिक २३ गते क्रान्ति स्थगित गरे । बीपी सुन्दरीजल बन्दी गृहमै थिए । आठ वर्ष बन्दी भएर २०२५ सालमा उनि छुटे र लगत्तै भारत प्रवासमा गए । बीपीले फेरी पञ्चायतविरुद्व शसस्त्र क्रान्ति घोषणा गरे २०२८ सालमा । त्यो नै कांग्रेसको इतिहासमा तेस्रो र अन्तिम शसस्त्र क्रान्ति थियो ।

क्रान्तिका क्रममा देशभर हिंसात्मक कृयाकलाप भए । २०३० साल जेठ २८ को जहाज अपहरण र २०३१ पुष १ को ओखलढुंगा काण्ड तेस्रो शसस्त्र क्रान्तिका चर्चित घटना हुन् । २०३१ मै बमसहित काठमाडौं छिरेका चार युवालाई मारियो । अनि २०३३ साल पुष १६ गते बीपी आठ वर्ष लामो प्रवासबाट मेलमिलापको नीतिसहित स्वेदश फर्किए । त्यति बेला उनले भनेका थिए । ‘हामी आत्मसमर्पण गरेर आएका होइनौ । अब हामी भारतीय भूमिमा बसेर क्रान्ति गर्दैनौ । नेपालबाटै गछौं ।

अबदेखि हामीले शसस्त्र क्रान्तिको बाटो त्याग्यौ । शान्तिपूर्ण आन्दोलन गर्छौ ।’ यसरी कांग्रेस हिंसात्मक बाटोबाट सदाका लागि शान्तिपूर्ण राजनीतिमा आयो । त्यस पछिका दिनमा कांग्रेसकै नेतृत्वमा भएका शान्तिपूर्ण आन्दोलनले देशमा प्रजातन्त्र स्थापना भयो । २०४६ सालमा पञ्चायतको अन्त्य भयो । २०६२–०६३ को जनआन्दोलनवाट निरंकश राजतन्त्र अन्त्यभै मुलुकमा गणतन्त्र स्थापना भयो ।”

प्रतिक्रिया