नयाँ वर्ष र हामी !

सुनिल सापकोटा २०७८ पुष १७ गते १०:५४

हामी हिन्दु धर्मावलम्बीको यो नयाँ वर्ष होइन । हामी हिन्दु नेपालीले यसलाई न मनाए पनि केही फरक न पर्ला । यो अंग्रजी नयाँ वर्ष १०-१५ वर्षयतादेखि हाम्रो देशमा हाम्रा नयाँ पुस्ताले बडो धुमधामसँग मनाइरहेका छन् । बरु हाम्रो नयाँ वर्षमा रमाइलो गरी मनाउने चलन घट्दै गएको देख्छु। भारतमा पनि अंग्रेज शासन आएदेखि मात्र जनवरीको पहिलो तारिखमा नयाँ वर्ष मनाउने गरिएको हो । त्योभन्दा पहिले जनवरीमा मनाउने चलन थिएन ।

नयाँ वर्ष सन् २०२२ जनवरीदेखि सुरु भएको छ । तर यसको खुसीयामीमा दुई-तीन दिन अगाडीदेखि नै नेपालका बजारहरुमा किनमेल गर्नेको भिडभाड रेस्टुरेन्ट र होटेलमा चहल-पहल र होहल्ला देखिन लागेको थियो । हरेक नयाँ वर्षमा मानिसहरुको उत्साह र खुसी देखेर म यो सोच्ने गर्थे कि यो सालको नयाँ वर्षमा केही खास होला ।

जनताको जीवनस्तरमा केही परिवर्तन खुसियाली आउला । देशमा केही गरिबी घट्ला । गत वर्षको तुलनामा केही राम्रो होला । तर अफसोच !….. हामीकहाँ राजनीतिक परिवर्तन भए पनि उपलब्धि केही भएन् । हरेक नयाँ वर्षजस्तै आज पनि लाखौं खसी र कुखुराहरु काटिएला । क्लब, होटेल , रेस्टुरेन्ट र वारहरुमा मनोरञ्जनका नाममा रक्सीको खोला बगाएर स्त्रीहरुको अर्ध नग्न नाँच र वेश्यावृत्ति होला ।

हाम्रो देशको बजेटको आकार प्रत्येक वर्ष ठूलो हुँदै गए पनि समग्र देशको र जनताको आर्थिक अवस्था हरेक वर्ष अघिल्लो वर्ष तुलनामा म त झन खत्तम हुँदै गइरहेको देख्छु । नेताहरुमा झुटको रटान देख्छु । यहाँ बनेका हरेक सरकारहरुमा सुस्तता देख्छु । अहिलेसम्म हाम्रो त्यही सुस्त र सामन्ति समाज छ । त्यही पुरानो राजनीतिक पार्टीहरु छन् अनि सो पार्टीका त्यही अनैतिक र भ्रष्ट नेताहरुको नेतृत्व र जगजगी छ ।

जुन सरकार आए पनि त्यही अघिल्लो सरकारको जस्तै गति र चाला छ । जनताहरुबीच पनि त्यही जातपात, त्यही साम्प्रदायिक भावना। बाल मजदुरी, महिलाहरुलाई विदेशमा लगेर त्यही बेचबिखन । गरिबमाथि त्यही थिचोमिचो र शोषण । कर्मचारीवर्गको त्यही घूसखोरी । भारतबाट हजारौं भारतीयको त्यही घुसपैठ । व्यपारीहरुको त्यही ठगी, तस्करी, जमाखोरी बजारमा त्यही महँगी ।

देशमा त्यही हत्या, हिंसा, बलात्कारको पुनरावृत्ति र बढोत्तरी । त्यसैले आगामी दिनमा अब हामीले गम्भीर भएर नयाँ ढंगले केही सोच्नु पर्ने बेला आएको छ । हामी सबैको सोचमा परिवर्तन ल्याउनुपर्‍यो । व्यक्तिगत स्वार्थलाई त्याग्नुपर्‍यो । आफ्नो हृदयमा प्रेम र सद्‌भावको सञ्चार गराउनुपर्‍यो । नभए हाम्रो राष्ट्रियता, धर्म, संस्कृति, सभ्यता र आर्थिक अवस्था बर्बाद हुनेछ र हाम्रो राष्ट्र नै धरापमा पर्नेवाला छ ।

प्रतिक्रिया