सोमबार, वैशाख १७, २०८१

राजा महेन्द्रको व्रतबन्ध

सुनील उलक २०७८ पुष २१ गते २०:०६

वि.सं. १९६३ असार १७ गते त्रिभुवनको जन्म भएको थियो । सानै उमेरमा राजा पृथ्वी वीरविक्रमको देहावसान भएपछि केवल ५ वर्ष ५ महिना १० दिनको हुँदा वि.सं. १९६८ मंसिर २७ गते राजा बनेका थिए । साथै केवल १२ वर्ष ८ महिनाको उमेर हुँदा वि.सं. १९७५ को चैतमा भारतको छतरा राज्यका राजा आर्जनसिंह साहिबका दुई राजकुमारी कान्ति र ईश्वरी राज्यलक्ष्मीसँग विवाह भएको थियो ।

यो विवाह महाराजाधिराजको भएको हुँदा पनि विशेष थियो । यसअगाडि र यसपछि पनि युवराज छँदै विवाह हुने गरेको मात्र इतिहास भेटिन्छ । राजा त्रिभुवनको उमेर केवल १३ वर्ष ११ महिना १३ दिनको हुँदा वि.सं. १९७७ जेठ ३० गते छोरा महेन्द्रको जन्म भएको थियो । सानै उमेरमा बाबु बनेका राजा त्रिभुवनको छोरासँग त्यति राम्रो सम्बन्ध थिएन ।

राणा परिवारसँग वैवाहिक सम्बन्ध गाँस्न नचाहँदा नचाहँदै पनि श्री ३ जुद्धले युवराज महेन्द्रको विवाह आफ्नो नातिनी तथा हरिशमशेरकी छोरी इन्द्र राज्यलक्ष्मीसँग गराइदिएका थिए । राजा त्रिभुवनको कतिपय राणाविरोधी क्रियाकलापको जानकारी छोरा महेन्द्रले ससुरा हरिशमशेरलाई गएर सुनाइ दिन्थे । देशमा प्रजातन्त्र आउनु केहीपूर्व वि.सं. २००७ भदौ १९ गते इन्द्रको देहावसान भएपछि पनि राजा र युवराजबीच अनबन सुरु भएको थियो ।

युवराजले दोस्रो विवाह इन्द्रको बहिनी रत्नसँग गर्न चाहँदा राजा त्रिभुवन र युवराज महेन्द्रबीच वैमनस्यता अझ बढेको थियो । युवराज र रत्नबीचको प्रेमसम्बन्धको कारण राजाले युवराज महेन्द्रको युवराजबाट पदच्यूत गर्न चाहेका थिए भने युवराजले पनि रत्नसँग विवाह गरी साधारण नागरिकसरहको जीवनयापन गर्ने चाहना राखेका थिए । तर पछि बीपी कोइरालाले राजा त्रिभुवनलाई सम्झाएपछि यो समस्या टर्न गएको थियो । बेलायती राजा एडवर्ड आठौंले आफ्नो प्रेमिकाका लागि राजगद्दी त्यागेको थाहा पाएका युवराज महेन्द्रले प्रेमिकाको लागि युवराज पद तथा भविष्यको राजगद्दी त्याग्ने मनसाय बनाएका थिए ।

यस्तै समस्या राजा वीरेन्द्र र युवराज दीपेन्द्रबीच सिर्जना हुँदा बिपीका भाइ गिरिजाले राजदरबारभित्रको समस्या सुल्झाउन सकेनन् ।

No description available.

यहाँ उल्लेख गरिएको दुर्लभ तस्बिर वि.सं. १९८७ मा भएको युवराज महेन्द्रको व्रतबन्धको हो । श्री ३ भीमशमशेरको समयमा भएको यस व्रतबन्ध समारोह विशेष रुपले आयोजना गरिएको थियो ।
(यो तस्बिर रङ्गीन बनाइएको हो ।)

प्रतिक्रिया