बिहीबार, चैत १५, २०८०

तालिबान कति धनी, त्यत्रो सम्पत्तिको स्रोत के ?

नेपालखोज २०७८ पुष २३ गते १७:३०

काबुल । आजभोलि अफगानिस्तानमा सरकारको नेतृत्व गरिरहेका तालिबानहरूसँग अथाह सम्पत्ति भएको खुलेको छ । भूमिगत सशस्त्र विद्रोह गर्दा धम्क्याएर चन्दा असुलिएको र विद्रोहलाई समर्थन गर्ने राष्ट्रहरूबाट समेत तालिबानी समूहलाई ठूलो रकम प्राप्त हुने गरेको थियो ।

तालिबानसँग अहिले सरकारको रक्षा बजेटभन्दा ३० गुणा बढी सम्पत्ति छ । २०२१ का तालिबानहरू टीभी समाचार क्लिपहरूमा सन् १९९० को दशकको उत्तरार्द्धभन्दा धेरै फरक देखिन्छन् । उनीहरूको जीवनशैली, रहनसहन, खानपान उच्च शैलीको छ । अफगान लडाकु संगठनको भिजुअल गेटअप पनि छ ।

तालिबानले प्रयोग गर्ने हतियारहरू एकदमै नयाँ र चम्किला छन्, जबकि अफगानस्तिानको सेनासँग अहिले आधुनिक तर पूराना हतियार छन् । प्रायः तालिबानका नेता-कार्यकर्ता प्रसिद्ध ‘हम्भी’ ब्रान्डका सवारीसाधन हुइँक्याउने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरू दाबी गर्छन् । ९० को दशकभन्दा अहिले तिनीहरूले लगाउने लुगा महँगा, सफा र नयाँ देखिन्छन् ।

उनीहरूको संगठन कोषले भरिएको छ । कोषमा अर्बौं रकम छ । सन् २०१६ मा फोर्ब्सले तालिबानलाई १० ‘आतंकवादी’ संगठनहरूमध्ये पाँचौं धनीको रूपमा सूचीबद्ध गरेको थियो । आईएसआईएसको त्यसबेला २ बिलियन यूएस डलर कारोबार थियो भने पाँचौ नम्बरमा तालिबानको ४ सय मिलियन यूएस डलरको वार्षिक कारोबार थियो ।

फोर्ब्सले तालिबान समूहको आम्दानीका प्राथमिक स्रोतहरू लागुपदार्थको तस्करी, संरक्षणको रकम, चन्दा असुलीलगायत सूचीबद्ध गरेको छ । नाटोले गरेको गोप्य अनुसन्धानअनुसार आर्थिक वर्ष ०१९/२० मा तालिबानको वार्षिक बजेट १ दशमलव ६ बिलियन थियो । फोर्ब्स २०१६ को तथ्यांकको तुलनामा पछिल्लो चार वर्षमा अर्थात २०२० सम्म उनीहरूको सम्पत्ति ४ सय प्रतिशतले बढेको छ ।

तालिबानले खानीबाट ४ सय ६४ मिलियन, ड्रग्सबाट ४१६ मिलियन, विदेशी चन्दाबाट २४० मिलियन, निर्यातबाट २४० मिलियन, विभिन्न क्षेत्रमा लगाएको करबाट १६० मिलियन र घर जग्गाबाट ८० मिलियन यूएस डलर कमाएको नाटोको गोप्य प्रतिवेदनमा उल्लेख छ । तालिबान नेतृत्वले स्वतन्त्र राजनीतिक र सैन्य क्षेत्रको विकास गर्न आत्मनिर्भरताको खोजी गरेका बेला बढी सम्पत्ति जम्मा भएको प्रस्टोक्ति दिने गरेको छ ।

पछिल्लो समय भने तालिबानले प्राप्त गर्ने विदेशी चन्दाको निर्भरता घट्दै गएको छ । सन् २०१७/१८मा तालिबानले अनुमानित ५ सय मिलियन वा कुल कोषको लगभग आधा रकम विदेशी स्रोतहरूबाट प्राप्त गरेको उल्लेख छ । सन् २०२० को तथ्यांकअनुसार तालिबानले उठाउने लगभग १५ प्रतिशत विदेशी चन्दा घटेको छ ।

आजभोलि तालिबान अफगानिस्तानको उत्कृष्ट व्यापारिक उद्यमजस्तै देखिएको छ। आफूसँग भएको सम्पत्तिका आधारमा तालिबानीहरूले धम्की पनि दिने गरेका छन् । आर्थिक दृष्टिकोणबाट हेर्दा तालिवानको लगानी प्रतिफल दिनप्रतिदिन राम्रो हुँदै गएको छ ।

अमेरिकी र नेटो सेनाको विस्थापनले छोडेको खाली ठाउँमा चाँडै स्थापित हुँदा उनीहरू आफैंमा खुसी छन् । सत्तामा पुगेपछि नेता-कार्यकर्ताहरूको सम्पत्ति संरक्षण भएको छ । भूमिगत युद्धमा संकलन गरेको अथाह सम्पत्तिका कारण तालिबानी नेता–कार्यकर्ताको जीवनस्तरमा आमूल परिवर्तन आएको छ ।

उनीहरू उच्च धनीको हैसियतमा समाजमा मौखिक शासन कायम राख्दै छन् । सशस्त्र युद्ध गर्दादेखि विभिन्न ठाउँमा लगानी गरेको तालिबानी समूहको व्यापार फस्टाउँदो छ । एकातिर अन्तर्राष्ट्रिय विभिन्न संघ-संस्थाहरूको अध्ययनअनुसार तालिबानहरू विश्वकै धनीको सूचीमा छन् । अर्कातिर मानविय संकटको अवस्था सिर्जना भएपछि विदेशीले गरिब जनताको छाक टारिदिनु पर्ने अवस्था छ ।

आजभोलिको वर्षा तथा हिमपातले अफगानिस्तानका ग्रामीण इलाकामा धेरैको ज्यान गएको अवस्था छ । अधिकांश जनतालाई खानलाउनै धौधौ छ । देशका नागरिकहरू भोकै मर्नुपर्ने अवस्था छ । गरिबीको दुष्चक्रबाट जनतालाई मुक्ति दिन सरकारको नेतृत्व गरिरहेका तालिबानले सशस्त्र युद्धमा कमाएको अथाह सम्पत्ति गरिब जनताको लागि खर्च गरे राम्रो हुने देखिन्छ ।

प्रतिक्रिया