बुधबार, जेठ २, २०८१

भीमशमशेरलाई चिनियाँ सर्वोच्च पदक

सुनिल उलक २०७८ पुष २५ गते १२:४०

श्री ३ बन्ने प्रतिक्षा गर्दा गर्दै २८ वर्षसम्म लगातार कमाण्डिङ अफिसर पदमा रहेका भीमशम्शेर अन्तत आफूभन्दा मात्र दुई वर्षले जेठा श्री ३ चन्द्रशम्शेरको ६७ वर्षको उमेरमा देहान्त भएपछि ६५ वर्षको बूढो उमेरमा वि.सं. १९८६ मंसिर १० गते श्री ३ बन्ने सौभाग्य पाएका थिए । राणा श्री ३ हरूमा सम्भवत सबैभन्दा बढी उमेरमा श्री ३ हुने नै भीमशम्शेर जङ्गबहादुर राणा नै थिए । नेपालको इतिहासमा नै हेर्ने हो भने गिरिजाप्रसाद कोइराला सबैभन्दा बढी उमेरमा प्रधानमन्त्री हुनेमा पर्दछन् ।

मुस्किलले ३ वर्ष पनि श्री ३ बन्न नपाएका भीमशम्शेरको कालगतिले नै १९८९ भदौ १७ मा देहान्त भएको थियो । राणा शासकहरूमा सोझो र बूढो प्रधानमन्त्री भीमशम्शेरको ब्याइते रानी कान्छा बडामहारानी थिइन् भने ल्याइतेमा सीता महारानी तथा गुन्जन महारानी थिइन । सीता महारानीको कथा निकै रोचक छ । जेठी बडामहारानी बिरामी हुँदा हेरविचार गर्न ल्याइएकी तामाङ केटी थिइन डीला । भोजपुर सिमपानीकी ब्लोन तामाङ थरकी सीता भने त्यसबेलाको मुर्मी परिवारबाट पनि भाग्यमानीमा परेकी थिइन् । बूढो उमेरमा २४ वर्षकी डीला तामाङसँग विवाह गर्दा भीमशम्शेरले बडामहारानी बनाउने बचन दिएका थिए । खासमा ल्याइतेलाई बडामहारानी बनाउन असम्भव थियो । तर आफै श्री ३ भएपछि कसको के लाग्थ्यो । जेठी रानीको देहान्त हुनासाथ बडामहारानी बनाइदिए । साथै मुर्मी भोट्या भनिदै आएकाहरुलाई सम्मान साथ तामाङ लेख्न पाउने बनाइदिए । सीता महारानीका नाममा दरवार बनाइदिए । जसलाई सीता दरवार भनिन्छ । जहाँ बालमन्दिर रहेको छ । २०७२ को भूकम्पले जर्जर बनेको दरवार पूनर्निर्माणको प्रतिक्षामा छ । साथै विवाह अगाडि नै सीता महारानीबाट जन्मने छोरीलाई युवराज महेन्द्रसँग विवाह गराइ भविष्यको रानी बनाउने समेत वचन दिएका थिए । राजा त्रिभुवन तयार पनि भइसकेका थिए तर अचानक बि.सं. १९८९ भदौ १७ गते भीमशम्शेरको नै देहान्त भयो । जुद्ध शम्शेर श्री ३ बने । जुद्धले भीमको छोरी होइन आफ्नो नातिनीको विवाह युवराज महेन्द्रसँग गराइदिए ।

राणाशासकहरूमा दुई राणा प्रधानमन्त्री भने बाबुछोरा नै श्री ३ बन्ने सौभाग्य पाएका थिए । श्री ३ चन्द्रशम्शेर र उनका छोरा मोहनशम्शेर तथा श्री ३ भीमशम्शेर र उनका छोरा पद्मशम्शेरले श्री ३ बन्ने सौभाग्य पाएका थिए ।

भीमशम्शेरको मृत्यु पछि श्री ३ बनेका जुद्धशम्शेरले भने रोलक्रममा फेरबदल गराए । ल्याइते सबैलाई रोलक्रमबाट हटाइदिए । जसले गर्दा भीमशम्शेरको ल्याइते दुई रानी नै अधिकार विहिन बने साथै उनका छोराहरु पनि सर्वस्वमा परे । भीमकी कान्छी रानी भने दरवारकी नर्तकी गुन्जन थिइन् । गुन्जन तर्फका छोराहरु पनि रोलक्रमबाट हटाइएका थिए ।

जुद्धशम्शेरले रोलक्रमबाट श्री ३ हुन लागेका रुद्रशम्शेरको साथै भीमशम्शेरको सीतामहारानी तिरका छोरा हिरण्यशम्शेर तथा प्रकाशशम्शेरलाई पनि सर्वस्व सहित निकालेर पठाए । कान्छी गुन्जन रानीका तर्फका छोरा रामशम्शेरको साथै अन्य दासीपुत्रहरु पनि निष्काशित भए । साथै युवराज महेन्द्रसँग विवाह हुन लागेका दिव्येश्वरी राज्यलक्ष्मीको पछि भारत धरमपुरका महाराजा राजेन्द्रसिंहसंग तथा पिताम्वरी राज्यलक्ष्मीको पनि नेपाल बाहिर नै विवाह भएको थियो ।

देशमा राणाशासनको अन्त्यको लागि यही सर्वस्वहरणसहित भारतमा निर्वासनमा रहेका हिरण्यशम्शेर र प्रकाशशम्शेरका छोराहरु लागे । नेपाली कांग्रेसलाई आर्थिक सहयोग गरेर देश भित्र बिद्रोहको आवाज उठाए । हिरण्यशम्शेरका छोरा सुवर्णशम्शेर तथा प्रकाशशम्शेरका छोरा महावीर शम्शेरले आन्दोलनमा आर्थिक सहयोग गरेर देशमा राणाशासनको अन्त्य गर्न ठूलो भूमिका खेले । प्रकाश शम्शेरका छोरा महावीर शम्शेरले नेपालमा पहिलो हवाइजहाज सेवाको शुरुवात गरेका थिए । हिमालयन एभिएसनको नाममा नेपालमा पहिलो हवाइजहाज डिसी ३ उडेको थियो । पोखरा विमानस्थलमा पहिलो पटक विपी र गणेशमानसिंहलाई लिएर हिमालयन एभिएसनको विमान नै पोखरा पुगेको थियो ।

धनकुटामा बडाहाकिम बनाएर सर्वस्वहरणसहित निष्काशित भएका हिरण्यशम्शेरको कान्छी रानी ललिता राज्य लक्ष्मीको दरवार ललिता निवास पनि सर्वस्वमा परेको थियो । देशमा प्रजातन्त्र आए पछि राजा त्रिभुवनको समयमा श्री ३ मोहनशम्शेरले फिर्ता गराएका थिए । पछि २०१७ सालमा राजा महेन्द्रबाट फेरि ललिता निवास रहेको जमिन सरकारीकरण भयो । देशले गणतन्त्र पायो तर देशमा प्रजातन्त्र ल्याउन आफ्नो सर्वस्व गुमाएका सुवर्ण सुवर्णशम्शेरका सन्ततीले सुवर्णशम्शेरको रानीको नाममा रहेको ललिता निवासले चर्चेको जमिन फिर्ता पाएन । भूमाफियाको चंगुलमा फसेको यो बहुमुल्य जमिन आज अदालतको मुद्दामा अल्झेको छ ।

यता प्रकाश शम्शेरका छोरा महावीरशम्शेर प्रजातन्त्र पछि विभिन्न मन्त्रालय सम्हाल्दै मन्त्री बनेका थिए । तर पछि कलकत्तामा नै रमे । टाइगर सिनेमा, डलहौजी प्रोपर्टिज, हुमायुँ प्रोपर्टिज, हिमालयन एभिएसन, कलकत्ता क्लव तथा क्लव 300 का मालिक रहेका महावीरको सन्ततीको अहिले पनि कलकत्तामा ठूलो धनराशी लगानी रहेको छ ।

राजा त्रिभुवनको समय बिताउने गरेको क्लव 300 मा रेष्टुरेन्ट सञ्चालन गरेका बोरिस लुसानोविच राजा त्रिभुवनको आग्रहमा काठमाडौं आए । रोयल होटलबाट पर्यटन ब्यबसायको शुरुवात गरेका बोरिस नेपालमा पर्यटन व्यवसायका जनक हुन् ।

खैर अब तस्विरमा जाउँ । यहाँ राखिएको तस्विर श्री ३ भीमशम्शेर तथा भारतका लागि चिनियाँ कन्सुलर जनरलको हो । चिनियाँ सरकारले श्री ३ भीमशम्शेरलाई आफ्नो देशको सर्वोच्च पदक “टुङ लिङ पिङ मा कुओ काङ वाङ” तथा चिनियाँ सेनामा मानार्थ जनरलको पद दिए पछि सो हस्तान्तरण गर्न चीनिया प्रतिनिधी नेपाल आएका थिए । सो भ्रमणमा चिनिया कन्सुलर जनरल आफ्नो श्रीमती तथा छोराको साथ नेपाल भ्रमणमा आएका थिए ।

प्रतिक्रिया