बिहीबार, चैत १५, २०८०

जसले डा. केसीलाई जुस खुवाएर अनशन तोडायो…

पार्वती भण्डारी २०७८ पुष २७ गते ११:११

मोचीका ग्राहक डाक्टर, स्वास्थ्यकर्मी र बिरामी

काठमाडौं । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका स्थायी घर भएका नछिनेराम मोची महाराजगन्जको टिचिङ अस्पतालछेउमै जुत्ता सिलाउँछन् । उनले एकै ठाउँमा बसेर फाटेका जुत्ता सिलाउन र पालिस लगाइदिन थालेको २६ वर्ष पुगेछ ।

मोची उमेरले ५५ वर्ष पुगेका छन् । उनी बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सडक किनारमा जुत्ता सिलाउने ग्राहक आउने आशामा हुन्छन् । कुनैकुनै बेला त ग्राहक आइपुग्छन् । कुनै बेला पट्यार लाग्छ उनलाई । जाडो होस् या गर्मी उनलाई कुनै पर्वाह छैन । काठमाडौंको महँगीमा छाक टार्न आफ्नो काममा तल्लीन छन् उनी ।

जुत्ता सिलाउन पनि सजिलो कहाँ हुन्छ र ! एकैठाउँमा बस्दा पट्यारलाग्दो त हुन्छ नै, तर उनले अप्ठ्यारो पनि बिर्सिसकेका छन् । ३५ वर्षदेखि सियो चलाउँदा हातका औंला बिग्रिएका छन् । पहिले त औंलामा घाउ नै हुन्थ्यो, तर अब घाउ हुन छाडिसकेको छ । उनका औंलामा छर्लंगै घाउका टाटा देखिन्छन् । अस्पतालको छेउ भएकाले मोचीका ग्राहक डाक्टर, स्वास्थ्यकर्मी, बिरामी र बढी पैदलयात्री हुन् ।

मोचीको परिवारमा सातजना सदस्य छन् । मोचीकी श्रीमती, छोराबुहारी र नातीनातिना भने सिरहातिरै गाउँमा बस्छन् । उनी भने काठमाडौंको बसुन्धारामा एक्लै बस्छन् । अरुको जुत्ता मर्मत गरेर र पालिस लगाइदिएर कमाएको आम्दानी उनलाई आफैंलाई काठमाडौंमा धौधौ हुन्छ । ‘थोरै कमाइ छ, कमाएको काठमाडौंमा आफैंलाई मात्रै पुग्छ । कहिलेकाहीँ मात्रै सानोतिनो रकम घर लैजाने गरेको छु,’ उनले नेपालखोजसँग भने ।

मोची सडकमा बसेर जुत्ता सिलाउनुभन्दा पहिले कृषि मजदुरी गर्थे । गाउँमा आफ्नो सानो झुपडी भए पनि गरिखाने खेत थिएन । परिवारका सबै सदस्य अहिले पनि अरुकै खेतबारीमा ज्यालादारी काम गरेर छाक टार्छन् । सिरहामा बसेर कृषि मजदुरी गर्न उनलाई मनै लागेन ।

केही कमाइ गर्न सकिन्छ कि भनेर उनी ३५ वर्षअघि काठमाडौं आए । ‘तर काठमाडौंमा पनि व्यथा उस्तै । जुत्ता सिलाएर एक्लैलाई पनि खान पुर्याउन मुस्किल छ,’ भन्छन् मोची, ‘घर जाउँ त गरिखाने खेत छैन । वृद्ध उमेर हुँदै गएपछि मजदुरी गर्ने आँट पनि छैन । गरेको मजदुरीले खानै पुग्दैन ।’ त्यसैले उनी कम आम्दानी भए पनि काठमाडौंको सडक किनारमा जुत्ता सिलाउन बाध्य छन् ।

मोचीलाई काठमाडौंमा लकडाउन भएका बेला भने निकै अप्ठ्यारो पर्यो । कोठाभाडा तिर्ने र खाने अवस्था नभएपछि गाउँ फर्किए । कोरोना साम्य भएपछि पुनः काठमाडौं फर्किए । आफूले जानेको सीपलाई निरन्तरता दिँदै छन् ।

मोचीले सडकमा जुत्ता सिलाउँदा अनेक समस्या भोग्नुपर्छ । कहिले अस्पतालमा हुने चिकित्सक तथा स्वास्थ्यकर्मीको आन्दोलनले उनको काममा प्रभाव पार्छ । कुनै बेला अधिक वर्षा त, कुनै बेला धूलो, हिलो र चर्को घामको सामना गर्नुपर्छ । यस्तै गाउँ जाने अवस्था आए, आफूले जमाएको (बसिरहेको) ठाउँ कसैले खोसिदेला कि भन्ने चिन्ता हुन्छ ।

केही वर्षअघि मोचीकी श्रीमती निकै बिरामी भइन् । उनी श्रीमतीको उपचारका लागि गाउँ गए । ६ महिनासम्म स्याहार गरे । श्रीमतीलाई सन्चो भएपछि काठमाडौं फर्किए । तर उनले वर्षौदेखि काम गरेको ठाउँमा अस्पतालले बस्नै दिएन । एक चिकित्सक नै आएर ठाउँ छाडेर जान आदेश दिए । अन्तै सडक किनारमा गएर बसे । तर पहिलेको जस्तो आम्दानी भएन । उनी भौतारिए । अन्ततः चिनेका एक डाक्टरसगँ हारगुहार गरेपछि उनी पहिलेकै ठाउँ टिचिङ अस्पताल छेउको सडकमा काम गर्दै छन् ।

अस्पताल छेउको सडकमा जुत्ता सिलाउने मोचीलाई एक समय भने शिक्षण अस्पतालका चिकित्सकले मज्जाले सम्झिएका रहेका छन् । ५/६ वर्ष अगाडि डा. गोविन्द केसी लामो समय अनशन बसेका थिए । त्यो बेला यिनै मोचीको हातबाट जुस पिएर डा. केसीले आफ्नो अनशन तोडेका रहेछन् । उनलाई केही दिन त गर्व महसुस भयो ।

कहिलेकाहीँ त मोचीलाई जुत्ता सिलाउने कामदेखि दिक्क लाग्छ । अरुको ८ घण्टा काम बरु सजिलै हुन्थ्यो भन्ने पनि लाग्छ । अर्कातिर बलको काम भएकाले गर्न पनि मन हुँदैन । अरुले सडक किनारमा बसेर जुत्ता सिलाएको सजिलो देख्छन् । तर उनलाई सजिलो कहाँ छ र ! जुत्ता सिलाउँदै गर्दा सियोले बेलाबेला हात घोच्ने गर्छ । धेरै ग्राहकले आफूले पाउनु पर्ने ज्याला पनि दिँदैनन् ।

वास्तवमा सडकमा बसेर जुत्ता सिलाउनु जोकोहीको रहर होइन बाध्यता नै हो । सिराहामा भनेजति जग्गा-जमिन नभएरै उनले अरुको जुत्ता मर्मत र पालिस लगाइदिने काम गर्नुपरेको हो । उनी भन्छन्, ‘आफ्नो जग्गा कम छ, खानै पुग्दैन, त्यसैले अरुसगँ मागेर खानु नपरोस् भनेर जुत्ता सिलाउने काम गरेको हुँ । ’

उनको कमाइ यति नै हुन्छ भन्ने निश्चित हुँदैन । काम भएका दिन ६ सय देखि ९ सयसम्म पनि हुन्छ । कहिलेकाहीँ एकदमै कम हुन्छ । गाउँमा गए गरिखान कम जमिन भएका उनलाई काठमाडौंमा बसेर अरुको जुत्ता मर्मत गर्नु बाध्यता छ ।

काम सानो होस् वा ठूलो, उत्तिकै महत्त्व हुन्छ । मोचीको संघर्षले जीवन जिउन सानो-ठूलो जस्तोसुकै काम गर्न पछि हट्नु हुँदैन भन्ने सन्देश दिएको छ । मोचीको संघर्ष सवैका लागि प्रेरणाको स्रोत हो । मोचीको कामलाई सलाम !

प्रतिक्रिया