शुक्रबार, चैत १६, २०८०

जापानी अर्बपतिले पृथ्वीलाई स्वर्ग देखेपछि…

‘अन्तरिक्षमा पुगेपछि हाम्रो धर्तीप्रतिको मोह अझ बढ्दो रहेछ । मैले त्यहाँ हाम्रो पृथ्वीको हावा, सुगन्ध र मौसमप्रति कृतज्ञता महसुस गरें ।’

नेपालखोज २०७८ पुष २७ गते ९:४४

काठमाडौं । जापानी अर्बपति युसाकु माइजावा गएको ८ डिसेम्बरमा रूसी अन्तरिक्ष यान सोयुजमा चढेर अन्तरिक्षको भ्रमणमा गएका थिए ।

युवा अर्बपति युसाकु माइजावा १२ दिनको अन्तरिक्ष यात्रा सकेर अहिले आफ्नो देश पुगिसकेका छन् । उनले संसारसामु आफ्नो अन्तरिक्ष अनुभव पनि साझा गरेका छन् । आफ्नो देश पुगे पछि उनले सबैभन्दा पहिले हाम्रो पृथ्वीको प्रशंसा गरे । माइजावाले भने, ‘अन्तरिक्षमा पुगेपछि हाम्रो धर्तीप्रतिको मोह अझ बढ्दो रहेछ । मैले त्यहाँ हाम्रो पृथ्वीको हावा, सुगन्ध र मौसमप्रति कृतज्ञता महसुस गरें ।’

युसाकुले स्पेस स्टेसनबाट विमानका आफ्ना गतिविधिहरुको भिडियो बनाएर युट्युबमा अपलोड गरेका थिए । उनका ती भिडियो लाखौंले हेरेका छन् जसमा अन्तरिक्षमा कसरी केस स्याम्पु गरिन्छ, दाँत कसरी माझिन्छदेखि लिएर बाथरुमको प्रयोग कसरी गरिन्छसम्मका कुरा समेटिएको छ ।

माइजावाले ती भिडियोमा जिरो ग्रेभिटीमा झेल्नुपर्ने समस्याहरुका बारेमा पनि कुरा गरेका छन् । उनी भन्छन्- अन्तरिक्षमा सुत्न गाह्रो हुने रहेछ । किनभने त्यहाँ शरीरलाई हावामा उड्नबाट रोक्न सकिने कुनै उपाय हुँदैन । माइजावाका अनुसार, ‘अन्तरिक्ष यान उडने बेलामा म प्रशन्न थिएँ । त्यो यान यति शान्त थियो कि लाग्थ्यो कुनै बुलेट ट्रेन चलिरहेको छ । झ्यालबाट बाहिर हेरेपछि मात्र रकेट उडेको कुरा थाहा भयो ।’

युसाकु जापानी कम्पनी ‘स्टार्ट टुडे’ का मालिक हुन् जसअन्तर्गत माइजावाले २००४ मा जोजोटाउन नामको फेसन वेबसाइट सुरु गरेका थिए जुन आज जापानको सबैभन्दा ठूलो फेसन अनलाइन मल हो । माइजावा ‘फ्री-ह्‌विलङ स्टाइल’ शैलीमा कारोबार गर्छन् जसको अर्थ बदलिँदो बजारमा सिर्जना हुने नयाँ अवसरलाई सक्दो चाँडै प्रयोग गर्नु हो ।

अन्तरिक्षको ऊचाइ छुने युसाकुको योजना मारियाना ट्रेन्चको गहिराइमा पुग्ने पनि छ । मारियाना ट्रेन्च हाम्रो धर्तीमा समुद्रको सबैभन्दा गहिरो भाग मानिन्छ । माइजावाको योजना २०२३ मा चन्द्रमाको भ्रमण गर्ने पनि छ । उनि एलन मस्कको कम्पनी स्पेसएक्सको विमानबाट आठजना मानिसका साथ चन्द्रमाको भ्रमणमा जानेछन् जसका लागि सम्झौतासमेत भइसकेको छ । माइजावा आर्ट कलेक्टर पनि हुन् र उनी फिल्म उद्योगका युवतीहरुसँगको डेटिङका कारण पनि चर्चामा रहन्छन् ।

उनले आफ्नो यो अन्तरिक्ष यात्राको खर्चका सम्बन्धमा केही बताएका छैनन् भने चन्द्रमा को यात्राका लागि हुने खर्च पनि गोप्य नै राखेका छन् ।

आलोचकहरुले उनका यी गतिविधिलाई ‘विलाशिता’ बताए पनि उनी स्वयं आफ्नो यो यात्राको उद्देश्य विश्व शान्ति भएको दाबी गर्छन् । माइजावा भन्छन्, ‘यदि विश्वका ठूला र शक्तिशाली नेताहरुले अन्तरिक्षमा पुगेर हाम्रो पृथ्वीलाई हेर्न पाए भने उनीहरुलाई यो धर्तीको सुन्दरता महसुस हुनेछ र त्यतिबेला सम्भवत: उनीहरुले यसको महत्त्व बुझ्नेछन् र हतियारको होड त्यागेर एकजुट भई यो धर्तीको रक्षा र विकासमा जुट्नेछन् ।’

प्रतिक्रिया