बुधबार, वैशाख १२, २०८१

दमदार गैरहिन्दी भारतीय चलचित्र

नेपालखोज २०७८ पुष २८ गते १३:०४

भारतमा हिन्दी चलचित्र मात्र बन्दैनन् । हिन्दीभन्दा राम्रा गैर हिन्दी चलचित्र पनि बन्छन् । यी चलचित्र हेरेपछि सिनेमा त यस्तो पो बनाउनु भनिन्छ ।

जय भीम (तमिल)
निर्देशक – लेखक : टी जे न्यानवेल
अमेजन प्राइम भिडियो
तमिलनाडुको कुनै गाउँमा पुलिसले एक दिन अचानक केही आदिवासीलाई गिरफ्तार गरेर नराम्रो यातना दिन्छ । त्यसपछि प्रहरीले ती आदिवासी थानाबाट भागेको बताउँछ । यता आदिवासीका परिवारजनलाई लाग्छ यसमा केही बदमासी छ । उनीहरू आफ्ना आफन्त भागेको मान्न तयार हुँदैनन् । एक आदिवासीकी श्रीमती अनेक ठाउँ धाउँछिन् तर उनको कुराको सुनुवाई हुँदैन । त्यसपछि कमजोरहरूका पक्षमा लड्ने वकिल चन्द्रु न्यायपालिकाको मदतबाट ति आदिवासिहरूको खोजीमा लाग्छन् । अन्त्यमा जे-जस्तो तथ्य अगाडी आउँछ त्यसले सबैलाई हल्लाउनुका साथै धेरै कुरा सोच्न बाध्य बनाउँछ । यो सत्य घटनामा आधारित चलचित्र हो ।

द ग्रेट इन्डियन किचन (मलयालम)
निर्देशक – लेखक : जियो बेबी
अमेजन प्राइम भिडियो

एउटी युवतीको विवाह हुन्छ । जीवन सामान्य रुपमा बितिरहेको हुन्छ । नव दुलही बिहानदेखि रातिसम्म श्रीमान् र परिवारको सेवामा जुटीरहेकी हुन्छिन् । यो सामान्य देखिने जीवनमा नव दुलहीले केही यस्तो कुरा फेला पार्छिन् जसले आतंकित तुल्याउछ । चलचित्रको अन्त्यमा ती नव दुलहीले यस्तो कदम चाल्छिन् जसको कल्पना कसैले गरेका हुँदैनन् ।

मन्डेला (तमिल)
निर्देशक – लेखक : मडोन अश्विन
नेटफ्लिक्स

एउटा सानो गाउँ जहाँ चुनाव हुन लागेको छ । चुनावमा दुई पार्टी आमने-सामने हुन्छन् जो आफूले जीत्न कुनै कसर बाँकी राख्दैनन् । भोट खरीद-बिक्री भइरहेको हुन्छ । जनतालाई भड्काउने प्रयास पनि चलिरहेकै हुन्छ तर परिस्थिति तब उल्टिन्छ जब के थाहा हुन्छ भने चुनावी जीतको साँचो कपाल काट्ने एक हजामको हातमा छ जसलाई सबैले आफूभन्दा निच मान्दथे । यद्यपि अचानक सारा गाँउ उसको वरिपरि घुम्न थाल्छ । त्यस पछि जे जस्ता घटना घट्छन त्यो देखेर हाँसो पनि उठ्छ र दुख पनि लाग्छ । यो फिल्मले जसरी जातीवाद र करप्ट पोलिटिक्स माथि प्रहार गरेको त्यो हेर्न लायक छ ।

मास्टर (तमिल)
निर्देशक – लेखब : लोकेश कनगराज
अमेजन प्राइम भिडियो

जेडी एक रक्स्याहा कलेज प्रोफेसर हुन । जसको ड्युटी वाल सुधार गृहमा लगाइन्छ । त्यहाँ पुगेर उनले एउटा र्याकेटका बारेमा जानकारी पाउँछन जसलाई लोकल गुन्डा भवानीले चलाइरहेको छ । जेडी यो सब कुराको मुकदर्शक बन्नुको साटो कसरी समस्या समाधान तर्फ लाग्छन त्यो हेर्न लायक छ र यो सिनेमाको मुल कथा पनि यही हो ।

सारपट्टा परमबरै (तमिल)
निर्देशक : पा रन्जित
लेखक : तमिल प्रभा, पा रन्जित
अमेजन प्राइम भिडियो

कबिलनले कहिल्यै बक्सिङ रिङमा कदम राखेका हुँदैनन् तर आफ्नो समुदायका लागि उनले बक्सिङको ग्लव्स लगाउनुपर्ने हुन्छ । उनले बक्सिङ खेलेको देखेर रिङ भित्र र बाहिरका कतिपय मानिस अप्रसन्न हुन्छन् र उनका लागि अनेकौं समस्या सिर्जना गर्छन् । य‍ो चलचित्रमा देखाइने बक्सिङ रिङको एक-एक मुक्काले दर्शकहरुलाई कुर्सीबाट उठन बाध्य बनाउँछ भने रिङ बाहिर हिरोको जीवनमा घट्ने घटनाबाट पनि दर्शकले आफूलाई अलग गर्न सक्दैनन् ।

द डिसाइपल (मराठी)
निर्देशक – लेखक : चैतन्य तम्हाणे
नेटफ्लिक्स

शरदले आफ्नो पुरै जीवन संगीतमा समर्पित गरेका हुन्छन् । तर बिस्तारै उनको मनमा के प्रश्न उठन थाल्छ भने के उनले संगीतमा महानता हासिल गर्न सक्छन् वा के उनी त्यसको सही हकदार हुन ? एउटा कलाकारको मनमा उठने यस्तै प्रश्नको जवाफ खोज्छ यो चलचित्रले । यो नेसनल अवार्ड विजेता चैतन्य तम्हाणेको चलचित्र हो ।

पुष्पा : द राइज (तेलगु)
निर्देशक – लेखक : सुकुमार

पुष्पाराज एक मजदुर हुन जो पछि गएर रक्तचन्दनको ठूलो तस्कर बन्छन् । उनको एरियामा छिर्न पुलिस पनि डराउँछ । अल्लु अर्जुनको यो चलचित्र ताली पिट्ने खालका डायलग र एक्सनले भरपुर छ जसले सुरु देखि अन्त्यसम्म भरपुर मनोरञ्जन दिन्छ ।

जाती रतनालु (तेलुगु)
निर्देशक – लेखक : अनुदीप केवी
अमेजन प्राइम भिडियो

तीन मित्र जसरी पनि होमटाउन छोडेर हैदराबादमा नोकरी गर्न चाहन्छन् । नोकरी प्राप्त गर्न उनीहरूसँग के- कस्तो योजना वा योग्यता छ अथवा हैदराबाद पुगेर के गर्ने जस्ता कुरासँग उनीहरूलाई मतलब हुँदैन । नोकरी प्राप्त गर्ने चक्करमा उनीहरूले के कस्ता कान्ड मच्चाउँछन हेर्न लायक छ । यो चलचित्रले दर्शकलाई मज्जाले हँसाउछ ।

कालिरा अतिता (उडिया)
निर्देशक – लेखक : निल माधव पांडा
एमएक्स प्लेयर

एक व्यक्ति आफ्नो गाउँ फर्कन्छ ताकि परिवारसँग भेटघाट गर्न सकियोस् । तर उसको पुरै गाउँ समुन्द्रमा डुबिसकेको हुन्छ । एउटा चक्रवातले उसको गाउँ नै निलेको हुन्छ र फेरि अर्को चक्रवात आउने हुन्छ । के त्यो चक्रवातबाट उसले आफैँलाई बचाउन सक्छ ? क्लाइमेट चेन्जले कसरी हाम्रो दैनिक जीवनलाई ३६० डिग्री घुमाउन सक्छ भन्ने कुरामा केन्द्रीत यो चलचित्र वातावरणिय परिवर्तनको अर्थ र महत्व बुझाउन प्रभावकारी सावित हुन्छ ।

जोजी (मलयालम)
निर्देशक : दिलिश पोथन
राइटर : श्याम पुष्करण
अमेजन प्राइम भिडियो

यो चलचित्रको कथा प्यान्डामिक कालको हो । तीन दाजुभाइ मध्ये सबैभन्दा कान्छो हुन्छ जोजी जो सुस्त त छ नै तर उसका सपना भने निकै ठूला छन् । यस्तो मान्छे कसरी शातिर हत्यारामा परिवर्तित हुन्छ भन्ने कुरामा केन्द्रीत छ यो चलचित्र । मलयालम सिनेमाका उत्कृष्ट कलाकार फहद फाजिलको अभिनयको जादु हेर्न पनि यो चलचित्र छुटाउनु हुँदैन ।

प्रतिक्रिया