मंगलबार, वैशाख ११, २०८१

नाफा हुने ठाउँमा लगानी गर्न सरकार हिच्किचाउनु पर्दैन : अर्थमन्त्री शर्मा

नेपालखोज २०७८ पुष ३० गते १२:३०

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अन्तः शुल्क ‘स्टिकर’को सुरक्षित मुद्रण नेपालमै गर्न निर्देशन दिएका छन् । काभ्रेको पनौतिस्थित आइटी पार्कमा जडान हुँदै गरेको सुरक्षण मुद्रण प्रिन्टिङ प्रेसको बिहीबार निरीक्षण गर्दे उनले अर्थ मन्त्रालयलाई आवश्यक स्टिकर तत्कालै उपलब्ध गराउन सुरक्षण मुद्रण केन्द्रलाई निर्देशन दिएका हुुन ।

मन्त्री शर्माले भने, ‘हामीलाई करिब तीन अर्ब पिस स्टिकर चाहिँदो रहेछ । त्यो तीन अरब स्टिकर छाप्न यस्ता मेसिन कति चाहिन्छन्, तत्काल ल्याएर जडान गर्न आग्रह गर्छु । कमसेकम अर्थ मन्त्रालयलाई आवश्यक पर्ने स्टिकर उपलब्ध गराउनुहोस ।’

उनले अब एक वर्षको अवधिमा मन्त्रालयलाई आवश्यक पर्ने परिमाणको स्टिकर छाप्न सक्ने गरी व्यवस्था गर्न निर्देशन दिए । जडान हुँदै गरेका अत्याधुनिक मेसिनले नोटबाहेक अन्य सबै किसिमका मुद्रण गर्ने जानकारी आफूलाई दिइएको भन्दै उनले यसको ठूलो बजार समेत रहेको बताए । उनले बैंक, यातायात, मालपोतलगायतका विभिन्न क्षेत्रको काम यसले पाउनसक्ने बताए ।

आफूले सुरक्षण प्रिन्टिङ प्रेसमा नाफा मात्रै देखेको उनले बताए । मन्त्री शर्माले यसको लागि सरकार लगानी गर्न नहिच्किचाउने बताए । उनले भने, ‘धेरै ठूलो व्यापार यसले गर्न सक्ने भएकाले यसमा लगानी भनेको नाफाका लागि हो । यहाँ मैले घाटा देखिन । नाफा मात्रै हुने ठाउँमा लगानी गर्न सरकारले पनि हिच्किचाउनुपर्छ जस्तो मलाई लाग्दैन ।’

उनले नेपालमा कुनै पनि हालतमा चोरी नहुने तथा नक्कली स्टिकर बनाउन नमिल्ने स्तरको सुरक्षित स्टिकर छाप्नुपर्ने आवश्यकता रहेको बताए । अरबौँको राजस्व चुहावटलाई नियन्त्रण गर्नसकिने विश्वास उनले व्यक्त गरे ।

प्रतिक्रिया