बिहीबार, वैशाख १३, २०८१

पीएमकप : नेपाल पुलिस र एपिएफ क्लब सेमिफाइनलमा प्रवेश

नेपालखोज २०७८ पुष ३० गते २०:१७

काठमाडौं । विभागीय टोलीद्वय नेपाल पुलिस क्लब र एपिएफ क्लब राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । मूलपानी मैदानमा एपिएफले समूह चरणका खेलमा सतप्रतिशत नतिजा निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो ।

समूह चरणको अन्तिम खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई सात विकेटले पराजित ग¥यो । टस हारेर ब्याटिङका लागि निम्त्याइएको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो । १ सय ५ रनको लक्ष्य एपीएफले ११ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको हो ।

लुम्बिनीका लागि देव खलानले ४३, सुशान्त थापाले १८ र कृष्ण कार्कीले १३ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । एपीएफका कमलसिंह ऐरी, किशोर महतो, अबिनाष बोहरा र दिपक बोहराले समान दुई विकेट लिए । शरद भेषावकरले एक विकेट लिए ।

१ सय ५ रनको लक्ष्य पूरा गर्नेक्रममा एपीएफका आसिफ शेखले ४३ र प्रदीप ऐरीले ३६ रन बनाए । दुई जनाले पहिलो विकेटका लागि ७४ रनको साझेदारी गरे । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । लुमिबनीका बासिर अहमदले दुई र सिद्धात्न शाहीले एक विकेट लिए ।

अर्को खेलमा कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनबाट नेपाल पुलिस कर्णाली प्रदेशलाई ८९ रनले हरायो । जितसँगै नेपाल पुलिसले पनि सेमिफाइनलमा स्थान पक्का गरेको छ । उत्कृष्ट ब्याटिङ गर्ने क्रममा कुशलले ८२ र दीपेन्द्रसिंहले ६२ रन बनाएपछि नेपाल पुलिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ४४ रन बनाएको थियो । २ सय ४५ रनको लक्ष्य पछ्याएको कर्णालीले ९ विकेट गुमाएर १५५ रनमात्र बनाउन सक्यो ।

कर्णालीका लागि प्रकाश जैशीले ६८ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले सम्झन लायक प्रदर्शन गर्न सकेनन । कप्तान रविन्द्र शाहीले १७ रन बनाउँदा दिवन पुन १७ रनमै अविजित रहे । मनिष थापा र दिनेश अधिकारीले समान १५ रन बनाए । विपीन रावलले १० रन जोडे ।

शुक्रबारकै खेलमा वाग्मती प्रदेशले प्रदेश नम्बर २ माथि पाँच विकेटको जित निकाल्यो । टस जितेर ब्याटिङ गरेको प्रदेश–२ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो । १५६ रनको लक्ष्य वाग्मतीले दुई बल बाँकी हुँदा पाँच विकेट गुमाएर पूरा ग¥यो । प्रदेश–२ का लागि हरिशंकर साहले अविजित ५६ रन बनाए । विवेक यादवले २८ रन जोडे । हसिम अन्सरी २६ रनमा अविजित रहँदा मोहम्मद आदिल आलमले १२ र सन्तोष कार्कीले १० रन बनाए ।

वाग्मतीका रिजन ढकाल र विपीन आचार्यले समान दुई विकेट लिए । प्रतिस जिसी र सुवास खत्रीले एक/एक विकेट लिए । यस अघि वाग्मती प्रदेशका लागि इशान पाण्डेले ३२, लकी कठायतले २८, सुवास खकुरेल र ज्ञानेन्द्र मल्लले समान २० रन बनाउँदा प्रतिसले अविजित २२ रन बनाए । नन्दन यादव १५ रनमा अविजित रहे । प्रदेश–२ का जितेन्द्र यादवले दुई विकेट लिँदा प्रथिक यादव, हरिशंकर र विवेटले एक÷एक विकेट लिए ।

यस्तै अर्को खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले हराउँदै जारी प्रतियोगितामा दोस्रो जित निकालेको छ । पहिलो खेलमा कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेपनि नेपाल पुलिस क्लबसँग चार विकेटको हार व्योहोरेको थियो । तेस्रो खेल हुन नसकेपछि प्रदेश नम्बर १ सँग एक–एक अंक बाडेको थियो ।

शुक्रबारको खेलमा १ सय १६ रनको लक्ष्य आर्मीले निर्धारित २० ओभरमा ७ विकेट विकेट गुमाएर पुरा गरेको थियो । आर्मीका लागि हरी चौहानले ३३ रन जोड्दा विक्रम सोब २९ रनमा नटआउट रहे । सुदुरपश्चिमका आदित्य महताले सर्वाधिक ४ विकेट हात पारे । नारायण जोशी, हेमन्त धामी र शेर मल्लले एक–एक विकेट लिए ।

यसअघि मुलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले २० ओभरमा सबै विकेट गुमाएर १ सय १५ रन जोडेको थियो । सुदुरपश्चिमका लागि खडक बोहराले सर्वाधिक ३७ रन जोडे । बसन्त कार्कीले ३४ रन जोड्दा अर्जुन साउदले १५ रन जोड्ने क्रममा पवेलियन फर्किए । आर्मीका बिक्रम सोबले ६ विकेट लिए । कुशल मल्ल, शाहब आलम र हरि चौहानको नाममा एक/एक विकेट लिए ।

प्रतिक्रिया