शुक्रबार, चैत १६, २०८०

प्रवेश नाका सिल गरिएपछि सुनसान भयो देवघाट

नेपालखोज २०७८ माघ १ गते १४:०५

चितवन । विगतका वर्षहरुमा भक्तजनले भीडभाड हुने पवित्र तीर्थस्थल देवघाट धाम यस वर्ष सुनसान भएको छ । कोभिडका कारण स्थानीय प्रशासनले देवघाट प्रवेश गर्ने नाका सिल गरेपछि देवघाट क्षेत्र सुनसान भएको हो ।

स्थानीय प्रशासनले शुक्रबार दिउँसो २ बजेबाट देवघाट प्रवेश गर्ने नाका आँपटारी, रामनगर, ठिकुरा र दासढुंगा प्रवेशमा रोक लगाएको छ । देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष स्थानीय शिव पौडेलले देवघाट क्षेत्र सुनसान रहेको बताएका छन् । कल्पवासी र स्थानीयबाहेक अन्य नदीमा स्नान गर्न गएका छैनन् ।

पौडेलले दवघाट अहिलेसम्मकै सबैभन्दा सुनसान भएको बताए । गत वर्ष कोभिड भए पनि केहीले स्नान गर्न पाएको भन्दै उनले यस वर्ष प्रशासनले देवघाट क्षेत्र शिल गरेकोमा आपत्ति व्यक्त गरेका छन् । उनले भने, ‘सामाजिक दूरी कायम गरेर स्नान गर्न दिनुपथ्र्यो ।’
देवघाटमा नुहाउन बाहिरी जिल्लाबाट गएका भक्तजन रोकिएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले केही भक्तजन रोकिनुपरेको बताए । प्रमुख जिल्ला अधिकारी आश्मान तामाङले कोभिडका कारणले देवघाट मेला रोक्न बाध्य भएको जनाएका छन् । उनले भने, ‘रोग फैलिन नदिन देवघाट छिर्नमा रोक लगाइएको हो ।’
स्थानीय प्रशासनले विहानबाट हिड्न दिएपछि भने केही भक्तजन भने सो क्षेत्रमा पुगेका छन् । यद्यपि विगत वर्षको तुलनामा भने यहाँ भक्तजन निकै न्यून देखिएका छन् । देवघाट मेला भर्न झण्डै पाँचलाख भक्तजन आउने अपेक्षा गरिएको थियो ।

मेलाको औपचारिकरुपमा शुक्रबार बिहान बेनीमा लिंगो गाडेर शुभारम्भ गरिएको थियो । गएका वर्षहरुमा भक्तजनको ठूलो संख्खा हुँदा व्यवस्थापनमा निकै कठिन हुने गरेको थियो ।

प्रतिक्रिया