बिहीबार, वैशाख ६, २०८१

‘कोभिडबाट नागरिकको ज्यान जोगाउनु अहिलेको महत्त्वपूर्ण काम हो ’

नेपालखोज २०७८ माघ २ गते ११:४९

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले विपद् जोखिम र क्षति न्यूनीकरणका लागि आपसी सहकार्य जरुरी रहेको बताएका छन् । काठमाडौँ महानगरपालिकाद्वारा आज (आइतबार) आयोजित २४औँ भूकम्प सुरक्षा दिवस तथा राष्ट्रिय भूकम्पस्मृति सभामा उनले तीनै तहका सहकारको समन्वय र सहकार्यले मात्रै जोखिम कम गर्न तथा उद्धार, राहत र पुनःस्थापनको काम प्रभावकारी बनाउन सकिने उल्लेख गरे ।

मुलुकका हरेक भौतिक पूर्वाधार भूकम्प प्रतिरोधी बनाउन जरुरी रहेको औँल्याउँदै उनले भने, ‘सरकारी तथा निजी आवास भूकम्प थेग्नसक्ने गरी बनाउनुपर्छ, त्यसका लागि नागरिकमा आवश्यक ज्ञान र सचेतना पु¥याउनु जरुरी छ । ’

विश्व्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट (ओमिक्रोन) को संक्रमण फैलिरहेका सन्दर्भ जोड्दै मन्त्री खाँणले अहिले कोभिडको विपद्बाट नागरिकको जीउज्यान जोगाउनु महत्वपूर्ण भएको जनाए ।

स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अवलम्बन गरी जोखिम न्यूनीकरणमा लाग्नसमेत राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकायलाई आग्रह गर्दै उनले यसप्रति सचेत हुन नागरिकमा समेत अनुरोध गरे । गृहमन्त्री खाँणले जोखिमका बीच आम नागरिकको सुरक्षामा खटिने सबै राष्ट्रसेवक कर्मचारीको प्रशंसा पनि गरेका छन् ।

प्रतिक्रिया