बुधबार, वैशाख १२, २०८१

मन्त्री आलेको फन्दामा परे १३ करोड ठग्न खोज्ने क्यासिनो सञ्चालक !

नेपालखोज २०७८ माघ २ गते १२:४६

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले एसएचएल म्यानेजमेन्ट प्रालिका निमित्त प्रमुख कार्यकारी अधिकृत माइक बोल्सोभरलाई नेपाल छाड्न रोक लगाइएको छ ।

क्यासिनो सञ्चालन गरेबापत उनले नेपाल सरकारलाई १३ करोड राजस्व तिर्नुपर्ने देखिए पनि हालसम्म नतिरी भाग्न लागेकाले मन्त्री आले र मन्त्रालयका सचिव महेश्वर न्यौपानेको निर्देशनमा साउथ अमेरिका उड्न लागेका क्यासिनोका निमित्त सीईओ बोल्सोभरलाई विमानस्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको हो । उनले ओसीपी एसियाको लगानीमा काठमाडौँको लाजिम्पाटस्थित सांग्रिला होटेल र भैरहवास्थित टाइगर प्यालेसमा सञ्चालित दुई क्यासिनोको राजस्व तिरेका थिएनन् ।

बोल्सोभरले सञ्चालन गरेका दुई क्यासिनोले प्रतिक्यासिनो ६ करोड ५० लाखका दरले दुई क्यासिनोको १३ करोड पुस मसान्तभित्र दाखिला गर्नुपर्नेमा अटेर गरी भाग्न लागेको थाहा पाएपछि रोक लगाइएको जनाइएको छ । मन्त्री आलेको निर्देशनपछि सञ्चालनमा रहेका ८ क्यासिनो कम्पनीले कम्तीमा पनि ४० करोड सरकारको खातामा राजस्व दाखिला गरिसकेका छन् । एसएचएल म्यानेजमेन्ट प्राइभेट लिमिटेडले भने १३ करोड रुपयाँ राजस्व नबुझाएको बताइएको छ ।

एसएचएल म्यानेजमेन्ट प्राइभेट लिमिटेडले तिलोत्तमा नगरपालिका ६ भैरहवामा २३ कठ्ठा सरकारी जग्गामा पाँच तारे होटेल गैरकानुनी ढंगले सञ्चालन गरेको आरोप छ । सर्वोच्च अदालतलेसमेत उक्त कम्पनीलाई कुनै कारोबार नगर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशविपरीत क्यासिनो र होटल सञ्चालन गर्दै आएको उक्त कम्पनीका सिइओ बोल्सोभर राजस्व नबुझाएर मध्यरातमा नेपाल छोड्दै गर्दा पक्राउ परेका हुन् ।

प्रतिक्रिया