बिहीबार, चैत १५, २०८०

दुबईमा अलपत्र छोराको शव ल्याउन आर्थिक सहयोग खोज्दै भुजेल दम्पती

नेपालखोज २०७८ माघ २ गते १३:५०

काठमाडौं । संयुक्त अरब इमिरेट्सको अलबसामा अलपत्र अवस्थामा रहेको आफ्नो छोराको शव नेपाल ल्याउनका लागि आर्थिक सहयोग गरिदिन सिन्धुपाल्चोक खाडीचौरका भुजेल दम्पतीले आग्रह गरेका छन् । सिन्धुपाल्चोक खाडीचौरका स्थायी बासिन्दा रही काठमाडौंको काँडाघारीमा अस्थायी रुपमा बस्दै आएका श्यामबहादुर र बुद्धिमाया भुजेल दम्पतीले छोराको शव ल्याउन आर्थिक अवस्थाले नभ्याउने भन्दै सहयोगको याचना गरेका हुन् ।

No description available.
मृतक विकास भुजेल ।

गत भदौ अन्तिममा छोरा विकास भुजेल बलजफ्ती पर्यटक भिसाबाट संयुक्त अरब इमिरेट् पुगेको मृतककी आमा बुद्धिमायाले बताइन् । अलग भिसामा गएको छोरा काम गर्न थालेको र दसैंसम्म सम्पर्कमा रहे पनि त्यसपछि सम्पर्कविहीन भएको उनले बताइन् ।

रोजगारी भिसामा गएको अवस्थामा मृतकको शव नेपाल ल्याउन समस्या नहुने भए पनि पर्यटक भिसामा दुबई पुगेर काम गर्न थालेका कारण उनको शव ल्याउन झन्डै तीन लाख रुपैयाँ खर्च लाग्ने र उक्त रकम आफूहरुसँग नभएको श्यामबहादुरले बताए । ‘छोराले धेरै करकर गरेर कता के मिलाएर गएको थियो, अहिले शव पनि ल्याउन सकिएन, सहयोगीहरुको साथ पाए कम्तीमा मृत छोराको शव ल्याएर अन्तिम संस्कार गर्ने थियौं,’ श्यामबहादुरले भने ।

संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले पनि २१ वर्षीय विकास भुजेलको मृत्यु भएको खबर स्थानीय प्रहरीले धेरै पहिले जानकारी गराए पनि बल्ल परिवारसँग सम्पर्कमा पुगिएको पुष्टि गरेका छन् । पर्यटक भिसामा आएका उनको शव ल्याउन व्यक्तिगत रुपमा आफूले सघाउने पनि उनले प्रतिबद्धता जनाएका छन् ।

गत भदौमा पर्यटक भिसामा दुबई पुगेका भुजेलको दसैंलगत्तै मृत्यु भएको थियो । छोराको मृत्यु भएको खबर भुजेल दम्पतीले गत साता मात्र पाएका थिए । उनीहरुले रोजगारीका लागि विदेश जान चाहने जो कोहीलाई पनि आफ्नो छोराको जस्तो अवस्था नआओस् भन्दै अनिवार्य रुपमा श्रम स्वीकृति लिएर मात्र विदेश जान आग्रह गरेका छन् ।

प्रतिक्रिया