शुक्रबार, चैत १६, २०८०

तालिबानले अब महिलालाई पढ्न दिने, ‘एजुकेसन मोडेल’ कस्तो ?

नेपालखोज २०७८ माघ २ गते २०:१९

काठमाडौं । अफगानिस्तानको तालिबान सरकारले यही मार्चको अन्त्यसम्ममा देशभरका स्कुलहरु छात्राका लागि पनि खुला हुने जनाएको छ । तालिबानका एक प्रवक्ताले अन्तर्राष्ट्रिय समुदायको एउटा प्रमुख मागका सन्दर्भमा छात्राहरुका लागि स्कुल खोल्ने समयसीमा सार्वजनिक गरेका हुन् ।

अगस्तको मध्यमा तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि देशका अधिकांश भागमा छात्रालाई सात कक्षाभन्दा माथिको अध्ययनका लागि स्कुल जाने अनुमति दिएको थिएन । यस्तै कडा नियम-कानुनका कारण अन्तर्राष्ट्रिय समुदायले तालिबानी सरकारलाई मान्यता दिएको छैन । अन्तर्राष्ट्रिय समुदाय तालिबानले थप कडा नियम लागु गर्ने कुराले सशंकित छ र उसले आफ्नो २० वर्ष पुरानो शासनका बेला लागु गरेको नियम-कानुन फेरि लागु गर्न सक्ने आशंका जनाइरहेको छ । उति बेला तालिबानले महिलाहरुको शिक्षा, काम तथा सार्वजनिक जीवनमाथि प्रतिबन्ध लगाएको थियो ।

अफगानी नव वर्षदेखि खुल्ने
तालिबानका संस्कृति तथा सूचना उपमन्त्री जबिहुल्लाह मुजाहिदका अनुसार शिक्षा विभाग २१ मार्चदेखि सुरु हुने अफगानी नयाँ वर्षदेखि सबै किशोरी तथा युवतीका लागि स्कुल खोल्ने योजनामा छ । अफगानिस्तानमा उसको छिमेकी मुलुक इरानझैं इस्लामिक शौर्य हिजरी शम्सी क्यालेन्डरअनुसार काम कारबाही हुँदै आएको छ ।

उपमन्त्री मुजाहिदका अनुसार किशोरी तथा युवतीहरुका लागि युवकहरुभन्दा अलग रहेर शिक्षा प्राप्त गर्ने व्यवस्था हुनुपर्छ । उपमन्त्री मुजाहिदले बाक्लो जनसंख्या भएको इलाकामा केटा र केटीहरुका लागि अलग-अलग कक्षा होइन कि अलग-अलग स्कुल भवन नै चाहिने कुरा बताएका छन् । मुजाहिदले भने, ‘हामी महिला शिक्षाको विरुद्धमा छैनौं । तालिबान शासनमा सरकारी नीति-नियममा एकरूपता नभएका अफगानिस्तानमा प्रान्तैपिच्छे अलग-अलग नियम छ ।’

अहिले अफगानिस्तानका ३४ प्रान्तमध्ये १० वटालाई छोडेर बाँकीमा सात कक्षाभन्दा माथिका सरकारी स्कुलमा किशोरीहरुलाई पढ्ने अनुमति दिइएको छैन । यद्यपि राजधानी काबुलका निजी विश्वविद्यालय तथा हाइस्कुलहरुले भने निर्वाध रूपले महिलाहरुलाई पनि अध्यापन गराइरहेका छन् ।
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया