शुक्रबार, वैशाख ७, २०८१

अब प्रदेश २ को नाम ‘मधेस’, राजधानी ‘जनकपुरधाम’

प्रदेशसभाको सोमबारको बैठकले दुईतिहाइले मतसहित प्रदेशको नाम र राजधानी टुंगो लगाएको हो ।

नेपालखोज २०७८ माघ ३ गते १८:३३

काठमाडौं । प्रदेश २ को नाम र राजधानी टुंगो लागेको छ । आज (सोमबार) बसेको प्रदेससभा बैठकले नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ राखेको हो ।

प्रदेशसभा बैठकमा नाम र राजधानी टुंगो लगाउन मतदान भएको थियो । मतदानमा प्रदेशको नामकरणका लागि र राजधानीका लागि दुईतिहाइ मत पाएपछि लामो समयदेखिको रस्साकस्सी टुंगिएको छ । प्रदेशसभामा जम्मा १०४ सांसद रहेकामा ९९ जना मतदानमा सहभागी भए । तीमध्ये ८० जनाले ‘मधेस’ मा मतदान गरे भने राजधानी ‘जनकपुरधाम’को पक्षमा ७८ सांसदले मतदान गरे ।

‘मधेस’ नामका लागि सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी, माओवादी केन्द्र र लोसपाका सांसदले प्रस्ताव गरेका थिए । सबैको प्रतिनिधित्व गर्दै सांसद शैलेन्द्र यादवले प्रदेशको नाम ‘मधेस’ राख्न प्रस्ताव गरेका थिए । ‘मधेस’ को नाम प्रस्तावमा ८० जनाको मत पर्यो ।

तीन पार्टीको मात्र सांसदले दुईतिहाइ नपुग्ने भएको अवस्थामा अन्य पार्टीले पनि सहयोग गरेपछि प्रदेशको नाम ‘मधेस’ मा टुंगो लागेको हो ।

यसैगरी प्रदेश २ को राजधानी ‘जनकपुरधाम’ राख्ने प्रस्ताव पनि दुईतिहाइ बहुमतले पारित भएको छ । प्रदेशसभाको बैठकबाट प्रदेशको नामसँगै स्थायी राजधानी तोकिएको हो ।

प्रदेशको नामसँगै राजधानी टुंगो पनि मतदानमार्फत लगाइएको हो । राजधानीका लागि ‘जनकपुरधाम’को पक्षमा ७८ जनाले मतदान गरे । प्रदेशसभामा रहेका सबै दल जनकपुरधामलाई राजधानी बनाउन सहमत थिए । तर, पर्सा र आसपासका सांसदहरू भने वीरगन्जको अडानमै थिए । उनीहरूले विपक्षमा मत हाले पनि दुईतिहाइ बहुमतले प्रदेशको राजधानी ‘जनकपुरधाम’व राख्ने प्रस्ताव पारित भएको सभामुख सरोजकुमार यादवले घोषणा गरे ।

सभामुख यादवले भने, ‘प्रदेशको स्थायी राजधानी जनकपुरधाम (उत्तरमा धनुषा जिल्लाको ढल्केवर र पूर्व–पश्चिम राजमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सिमाना र पश्चिममा मिथिला माध्यमिक परिक्रमा) कायम भएको घोषणा गर्दछु ।’

प्रतिक्रिया