बिहीबार, वैशाख १३, २०८१

जाडोभरि खानुस् तिलको लड्डु

डा. हेमराज कोइराला २०७८ माघ ४ गते १९:५१

मकर संक्रान्तिमा तिलको लड्डु, तरूल, घिउ, चाकु, मुंगफलीको चक्की, खिचडी, बेसनको लड्डु, आदि खाने चलन छ । त्यसमा पनि तिलको लड्डु त मकर संक्रान्तिको पहिचान नै हो । मकर संक्रान्तिमा तिलको लड्डु खाने चलन लगभग सबै संस्कृति र जाति-जनजातिहरूका बीचमा विद्यमान छ । संक्रान्तिका दिनमा मात्र तिलको लड्डु खाएर अक्सर हामी यो पर्वलाई बिदाइ गर्छौं तर योग, प्राकृतिक चिकित्सा एवं आयुर्वेदजस्ता पूर्वीय आयुर्विज्ञानले मकर संक्रान्तिमा मात्र नभएर जाडोभरि नै तिलको लड्डु खान निर्दिष्ट गरेको छ र पर्वकै रूपमा मनाएर तिलको लड्डु खाने प्रचलन हाम्रो संस्कृतिमा समावेश गरिदिएको छ । यसरी जाडो मौसममा तिलको लड्डु खानुको निम्नलिखित फाइदाहरू छन् ।

१. पेटका लागि गुणकारी : तिलको लड्डुको सेवन पेटका लागि गुणकारी खानेकुरा हो । यसको सेवनले पाचन क्षमतालाई सशक्त पार्छ भने अपच, अजीर्ण, ग्यास बन्ने समस्या, कब्जियत, अम्लपित्त, आदिलाई पनि निवारण गरी पेटलाई सफा राख्न मद्दत गर्दछ ।

२. चिसोको प्रभाव कम गर्ने : चिसोको मौसममा तिलको लड्डु खानाले शरीरलाई पर्याप्त मात्रामा क्यालोरी प्रदान गरी न्यानो बनाइराख्छ । तिलको सेवनले चिसोको दुष्प्रभावबाट पनि शरीरलाई बचाउने गर्छ । चिसोको एलर्जी भएकाहरूलाई पनि तिलको सेवनले फाइदा पुर्‍याउँछ ।

३. महिनावारी ठीक पार्न सहयोगी : तिलको लड्डुको सेवनले महिलाहरूको महिनावारी ठीक समयमा नहुने, महिनावारी हुँदा अत्यधिक रगत बग्ने, तल्लो पेट दुख्नेजस्ता मासिक धर्मसम्बन्धी गडबडीलाई पनि ठीक पार्न मद्दत गर्दछ ।

४. रक्त अल्पतालाई निको पार्ने : तिलमा उच्च मात्रामा फलाम र रगत बनाउने भिटामिनहरू पाइने हुँदा रक्त अल्पताका समस्या झेलिरहेकाहरूलाई पनि तिलको सेवनले विशेष फाइदा पुर्‍याउँछ ।

५. उच्च पोषक : तिल, सक्खर, चाकु, कुराउनी र सुक्खा फलफूलहरूको प्रयोग गरेर बनाइने हुनाले तिलको लड्डु असाध्यै पौष्टिक हुन्छ । १०० ग्राम तिलमा २३.४ ग्राम कार्बोहाइड्रेटस, ४९.७ ग्राम तेल र १७.७ ग्राम प्रोटिन पाइन्छ । यी तीनै पोषक तत्त्वबाट शरीरले लगभन ५७३ किलोक्यालेरी पोषण पाउँछ । यसैगरी तिलमा उच्च मात्रामा विद्यमान खनिज र भिटामिनहरूले पनि शरीरलाई भरपूर पोषण प्रदान गर्छ ।

६. छाला, नङ र केशका लागि लाभदायक : तिलमा उच्च मात्रामा खनिज, भिटामिन एवं एन्टी अक्सिडेन्ट पाइने हुँदा यसको सेवनले छाला, नङ र केशका लागि अत्यन्त लाभ पुर्‍याउँछ ।

७.हाड जोर्नीका लागि राम्रो : हाड जोर्नीको सामस्याका लागि पनि तिलको सेवन अत्यन्त लाभदायक मानिएको छ किनकि तिलमा प्रशस्त मात्रामा हड्डी बन्न आवश्यक तत्त्वहरू मौजुद छ । राति दूधसँग तिलको लड्डु खाने गर्नाले आस्टियो पिनिया, आस्टियो पोरोसिस एवं आस्टियो मलेसियाजस्ता समस्याबाट पनि छुटकारा पाउन सकिन्छ ।

८. रूघा, मर्की, दम, खोकीलाई राम्रो : दमका बिरामीका लागि पनि तिलको लड्डुको सेवन अत्यन्त लाभदायक छ । जाडो बढेसँगै वायुमण्डलमा आद्रता बढ्ने र चिसोको कारणले श्वास नलीहरू साँघुरिने हुँदा श्वास-प्रश्वासमा समस्या बढ्न सक्छ । खोकी लाग्ने, कफ आउनेजस्ता समस्याबाट मुक्ति पाउन पनि दैनिक एक वा दुईवटा लड्डु खाइरहनुपर्ने हुन्छ ।

९. नातागतलाई भगाउँछ : नातागत झेलिरहेकाहरूको लागि पनि तिलको सेवन अत्यन्त लाभदायक छ। तिल, गुड र कुराउनी मिलाएर बनाइएको तिलको लड्डु उच्च पौष्टिकता र क्यालोरीले युक्त भएकाले नातागतका बिरामीले खानैपर्ने खानेकुरा हो ।

१०.मुटुका लागि राम्रो : तिलमा मुटुका लागि आवश्यक पौष्टिक तत्त्वहरू जस्तो पोलिअनस्याचुरेटेड फ्याट, म्याग्नेसियम, एन्टिअक्सिडेन्टहरू, भिटामिनहरू र फाइबर आदि प्रचुर मात्रामा पाइने हुँदा यसको नियमित सेवनले प्लाक निर्माण रोकी मुटुलाई बलियो बनाउँछ ।

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया