मंगलबार, वैशाख ११, २०८१

स्थानीय तहको निर्वाचन वैशाखमा गर्न सत्तारूढ दलका नेता सहमत

थप निर्णयका लागि आगामी बिहीबार पुनः बैठक बस्ने

नेपालखोज २०७८ माघ ४ गते १२:३८

काठमाडौं । सत्ता गठबन्धनको नेताहरूको बैठक सकिएको छ । आज (मंगलबार) बसेको बैठकमा स्थानीय तहको निर्वाचन, राष्ट्रियसभाको निर्वाचन, एमालेको संसद अवरोधलगायत विषयमा छलफल भयो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा स्थानीय तहको निर्वाचन बैशाखमा गर्नेमा शीर्ष नेताहरू सहमत भएका छन् । तर यस विषयमा थप छलफल भने अर्को बैठकमा गरिने भएको छ । निर्वाचन समयमै सम्पन्न गर्न सवै नेताहरू सहमत छन् ।

स्थानीय तहको निर्वाचनका सम्बन्धमा थप छलफल गर्न आगामी बिहीबार फेरि सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । बैठकबाट स्थानीय तहको निर्वाचन सम्बन्धमा मिति तोकिन सक्ने नेताहरूले जनाएका छन् । आज बसेको बैठकमा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने सहभागी भएनन् ।

उनीहरू सहभागी भएको आगामी बैठकबाट भने थप ठोस निर्णय हुने आकलन गरिएको छ । यता निर्वाचन आयोगले भने आगामी वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ ।

प्रतिक्रिया