शुक्रबार, वैशाख ७, २०८१

दराज नेपालको नयाँ प्रबन्ध निर्देशकमा आँचल

नेपालखोज २०७८ माघ ४ गते १९:१७

काठमाडौ । नेपालको अग्रणी अनलाइनबजार दराज नेपालले आँचल कुँवरलाई पहिलो महिला प्रबन्ध निर्देशकको रूपमा नियुक्त गरेको छ । उनी प्रबन्ध निर्देशकको रूपमा नियुक्त भएको दराजका सीईओ बियार्के मिक्केलसेनले लिन्क्डइनमा घोषणा गरेका थिए ।

नेपालमा जन्मिएकी आँचलले कार्लसन स्कुल अफ म्यानेजमेन्टबाट एमबीए, गणित र अर्थशास्त्रमा सेन्ट क्लाउड स्टेट युनिभर्सिटी मिनेसोटाबाट बीएस सकाएर १३ वर्ष युएस कर्पोरेट क्षेत्रमा काम गरिसकेकी छिन् । यो अवधिमा उनले कार्लसन वागोनलिट ट्राभल र इ–कमर्स अग्रगामी, अमेजन जस्ता विभिन्न प्रमुख कम्पनीहरूमा काम गरिन् । उनीसँग स्वीडेन, पोल्याण्ड, साउदी अरब र इजिप्ट जस्ता नयाँ बजारहरूमा कम्पनी स्थापना गरेको कार्य अनुभव छ ।

प्रबन्ध निर्देशकको रूपमा नियुक्त भएपछि कुँबरले नेपाली जनताका लागि विश्व–स्तरीय अनलाइन सपिङ अनुभव सिर्जना गर्ने धेरै प्रतिभाशाली पेशेवरहरूको समूहको नेतृत्व गर्ने अवसर पाएकोमा सम्मानित महसुस गरेको बताइन् । ‘नेपाली इ–कमर्स उद्योगमा दराजको द्रुत बृद्धि र प्रभाव टाढाबाट पनि स्पष्ट देखिन्छ । यसरी, म दराज नेपाललाई घरायसी नाम र हाम्रा सबै ग्राहकहरूको किनमेल आवश्यकताहरूको लागि वान–स्टप समाधानको रूपमा स्थापित गर्नमा भाग लिन पाउँदा धेरै उत्साहित महसुस गर्छु ।’ उनले भनिन् ।

अमेरिकामा लामो र सफल करियरपछि कम्पनीले बृद्धिको नयाँ चरणमा प्रवेश गरेको बेला आँचलले दराज नेपालको नेतृत्व गर्दैछिन् । यो पनि एस्तो समयमा छ जब कम्पनीको रिब्रान्डिङ हुँदैछ । यसरी नै, उनको नियुक्तिसँगै, दराजका सबै अपरेटिङ देशहरूमा अब स्वदेशी प्रबन्ध निर्देशक (एमडी) हरू रहेको कम्पनीले जनाएको छ । दराज समूहका सीईओ र संस्थापक, बियार्के मिक्केलसेनले भने, ‘हामी हाम्रो विकासको अर्को चरणमा अघि बढ्दै गर्दा, हाम्रो ध्यान हाम्रा ग्राहकहरू र बिक्रेताहरूसँग जोड्ने भावना सिर्जना गर्ने हो । म आँचल र हाम्रा अन्यदेशका एमडीहरूसँगै काम गर्न तत्पर छु ।’ प्रयोगकर्ताहरूका लागि थप खोजी र व्यक्तिगत अनुभवहरू सिर्जना गर्नका लागि उनीहरूले उनीहरूको स्थानीय परिप्रेक्ष, अनुभव र अन्तरदृष्टिहरू व्यवसायलाई अगाडि बढाउन जारी राख्न सहयोग पुर्याउने उनको भनाइ छ ।

वर्तमान एमडी लिनो अहलेरिङले सिङ्गापुरको दराज मुख्यालयमा क्षेत्रीय भूमिकामा सरुवा भएपछि आंचलले पदभार ग्रहण गर्नेछिन् । अहलरिङले भने, “दराजका लागि यो निकै रोमाञ्चक समय हो । विगत साढे वर्षमा देशमा इ–कमर्स निर्माण र यस उद्योगको जग बसाल्नु ठूलो सम्मानको कुरा हो । हामीसँग सात सय ५० भन्दा बढी डरजियनसको उत्कृष्ट टोली छ र सामान्यतया दराज र ई–कमर्सको भविष्य अत्यन्त उज्ज्वल हुनेछ ।’ आँचलको नेतृत्वमा दराजले अझ ठूलो उचाइमा पुग्नेमा अाफू विश्वस्त रहेका बताउदै उनले कुँबर र सम्पूर्ण दराज नेपालको टोलीलाई शुभकामना दिन चाहेको बताए ।

प्रतिक्रिया