बिहीबार, वैशाख १३, २०८१

प्रधानमन्त्री कप टी-ट्वान्टी प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीलाई

नेपालखोज २०७८ माघ ५ गते १४:३६

काठमाडौं । प्रधानमन्त्री कप टी–२० प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीले जितेको छ । आज भएको फाइनलमा पुलिसलाई सशस्त्रले २१ रनले पराजित गरेको हो ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानामा टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले १ सय ५८ रन बनाएको थियो । लक्ष्य पछ्याउने क्रममा पुलिसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन मात्रै बनाउन सक्यो ।

एपीएफले निर्धारित २० ओभरमा एक बल बाँकी हुँदा सबै विकेट विकेट गुमाएर १ सय ५८ रन बनायो । एपीएपका लागि अमरसिंह राउटेलाले १५ बलमा २ चौका र तीन छक्कासहित सर्वाधिक २९ रनको योगदान दिए । ओपनर प्रदिप ऐरी ७ र आसिफ शेख ९ रन बनाएर आउट हुँदा तेस्रो नम्बरमा आएका ब्याटर लोकेश बमले इनिङ उकासेका थिए । उनले १५ बलमा १ चौका र ३ छक्कासहित २७ रन बनाए । सन्दीप जोरा २० बलमा २४ रन, भुवन कार्की २२ बलमा २७ रनबाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गरेनन् ।

पुलिसको बलिङमा दिपेन्द्र सिंह ऐरी र सागर ढकालले सर्वाधिक ३ विकेट लिए । यस्तै, गुलसन झाले २ विकेट लिए भने योगेन्द्रसिंह कार्की र आरिफ शेखले १–१ विकेट लिए ।

पहिलो बलमै विकेट गुमाएको पुलिसका लागि दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरे । दिपेन्द्रले दिलिपनाथसँग ५६ रनको साझेदारी गर्दै अर्धशतक बनाए । उनले ५६ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ६५ रनको योगदान गरे । दिलिपनाथले २२ बलमा २३ रन जोडे । अनिल शाहले १० रन र आरिफ शेखले १२ बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

एपीएफको बलिङमा किशोर महतोले सर्वाधिक तीन विकेट लिए । त्यस्तै अविनाश बोहरा, अमर रौटेला र दिपक बोहोराले समान १ विकेट लिए । यसअघिका दुबै टोली सबै खेलमा अपराजित रहँदै फाइनल यात्रा तय गरेका थिए । पुस १६ गतेदेखि सुरु भएको प्रतियोगितामा समूह ‘ए’ र ‘बी’मा तीन विभागीय र सात प्रदेश गरेर १० टोलीको सहभागिता थियो ।

प्रतियोगिताको विजेता टोलीले पाँच लाख र उपविजेताले तीन लाख प्राप्त गरे । सेमिफाइनलबाट बाहिरिने टोलीले ५०–५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया