शुक्रबार, चैत १६, २०८०

आगामी २ वर्षभित्र कम्युनिष्ट सम्मेलन गर्ने माओवादी केन्द्र समाजवादीको घोषणा

नेपालखोज २०७८ माघ ५ गते १५:४८

काठमाडौं । कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी केन्द्र समाजवादी) ले जनतासँग कम्युनिष्ट कार्यक्रम अन्तर्गत ‘कम्युनिष्ट सम्मेलन’को आयोजना गर्ने भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पार्टीले आगामी २ वर्षभित्र कम्युनिष्ट सम्मेलन गर्ने जानकारी दिएको हो ।

वैज्ञानिक समाजवाद स्थापनाको लागि ऐतिहासिक कम्युनिष्ट सम्मेलनको आवश्यकता ‘क्रान्तिकारी कार्यदिशा, पार्टी, सत्ता र नेतृत्व निर्माणको लागि व्यापक जनसहभागिता’ भन्ने नारासहित समाजवादी कम्युनिष्ट सम्मेलनको आयोजना गर्न लागेको पार्टीले जनाएको छ । कार्यक्रममा अध्यक्ष कर्णजित बुढाथोकीले कम्युनिष्टहरुको पहिलोपटक सम्मेलनको आयोजना गर्न लागेको बताए । उनले कम्युनिष्ट सम्मेलन आयोजनाका लागि आयोजक समिति गठन गरिने जनाए । आयोजक समितिको संयोजक र संख्या निकट भविष्यमै सम्पूर्ण कम्युनिष्ट पार्टीबीचमा आपसी समझदारी कायम गरेर घोषणा गरिने उनको भनाई थियो । उनले सम्मेलन सम्पन्न गर्न विभिन्न विभागहरु गठन गरिने पनि बताए । सम्मेलन आगामी २ वर्षभित्र गर्ने पनि उनले स्पष्ट पारे ।

नेकपा (एमाले) र नेपाली कांग्रेस, राप्रपालगायतको महाधिवेशन भर्खरै सकिएको भन्दै आफुहरुले नयाँ ढंगले कम्युनिष्टहरुको सम्मेलन गर्ने उनको भनाई छ । बुढाथोकीले पार्टीको सम्मेलनको उद्देश्य सबै कम्युनिष्टहरुलाई एकै स्थानमा उपस्थित् गराउने भएको पनि जिकिर गरे । नेकपा माओवादी र क्रान्तिकारी पार्टीहरुको शक्तिको भरमा आज देश अगाडि बढेको उनको भनाई थियो ।

अहिले समय परिवर्तन भएको भन्दै अध्यक्ष बुढाथोकीले पहिला नेताले भनेको सबै कुरा जनताले विश्वास गर्ने तर अहिले प्रत्येक जनताले आफ्नो पार्टीमा भूमिका खोज्न थालेको बताए । नेकपा (माओवादी केन्द्र) र एमाले एकता गरेर असफल भएर विभाजन भएको उनको टिप्पणी छ ।
समाजवाद आफ्नो पार्टीको लक्ष्य हो भन्दै उनले समाजवादलाई तीन चरणमा विभाजन गरेर आफ्नो पार्टीले लैजान खोजेको बताए । जनविद्रोहको उल्टो अवस्था अहिले रहेको उनको भनाई छ । नेपालको राजनीति अत्यन्तै जटिल अवस्थामा पुगेको भन्दै बुढाथोकीले आज प्रधानमन्त्री शेरबहादुर देउवाको कारण लिपुलेक, लिपियाधुरालाई भारतले आफ्नो भनेर दाबी गर्ने हिम्मत गरेको आरोप लगाए ।

सबै नेपाली जनताको अभिभावक हुनको लागि आफू र आफ्नो पार्टी अगाडी बढेको उनले जिकिर गरे । आफ्नो पार्टी सिंगो कम्युनिष्टलाई एकीकृत बनाएर देशकै ठुलो शक्ति र ताकत हुने समेत उनले जिकिर गरे ।

प्रतिक्रिया