शुक्रबार, वैशाख १४, २०८१

ओमिक्रोन भेरियन्टप्रति सजक रहन डब्ल्यूएचओको आग्रह

नेपालखोज २०७८ माघ ६ गते ७:१७

जेनेभा । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडानोम गेब्रेयससले कोभिड-१९ को नयाँ भेरियन्टलाई सामान्य रूपमा लिइनु सही नहुने बताएका छन् । जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा गेब्रेयससले ओमिक्रोन भेरिएन्टले यसअघिको डेल्टाभन्दा कम जटिल प्रकारको कोभिड गराउँछ भनेर बेवास्ता नगर्न विश्व समुदायलाई आग्रह गरेका हुन् ।

ओमिक्रोन अन्य भेरियन्टभन्दा कम घातक हुन सक्ने भएपनि यसलाई नजरअन्दाज गर्न नहुने उनको सुझाव छ । गेब्रेयसले ओमिक्रोनका कारण मानिसहरू अस्पताल भर्ना भइरहेको र मत्यु पनि भएकाले स्वास्थ्य केन्द्रमा अत्यधिक भीडभाड बढेको सम्मेलनमा बताए ।

संसारभर ओमिक्रोनको अस्वभाविक वृद्धिसँगै नयाँ भेरिएन्ट देखिन सक्ने भन्दै तत्काल कोभिड महामारी अन्त्य नहुने भन्दै यसका लागि निगरानी तथा मूल्याङ्कन गर्न आवश्यक रहेको उनले बताए ।

ओमिक्रोनका कारण गत हप्ताभित्रै विश्वभर एक करोड ८० लाख नयाँ संक्रमित थपिएको भन्दै उहाँले खोप नलगाएका मानिसहरू गम्भीर सङ्क्रमित र मृत्यु हुने उच्च जोखिममा रहेको बताए । ओमिक्रोन भेरियन्ट फैलिएयता युरोप र एशियामा दैनिक सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ ।

प्रतिक्रिया