शुक्रबार, वैशाख १४, २०८१

इजरायल जाने श्रमिकलाई बिदाइ गर्दै श्रममन्त्री, २ लाख रुपैयाँ पारिश्रमिक

नेपालखोज २०७८ माघ ६ गते १३:१२

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि पहिलो चरणमा इजरायल जाने श्रमिकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरेका छन् । निजी क्षेत्र तथा बिचौलियारहित सरकार–सरकार (जिटुजी) प्रक्रियामार्फत पहिलोपटक इजरायल प्रस्थान गरेका श्रमिकको विदाइका लागि मन्त्री श्रेष्ठ विमानस्थल पुगे ।

मन्त्रीसँगै मन्त्रालयका उच्च कर्मचारी तथा नेपालका लागि इजरायलका राजदुत हनान गोदर पनि विमानस्थल पुगेका थिए । पहिलो चरणमा इजरायल प्रस्थान गरेका श्रमिकहरुलाई सम्वोधन मन्त्री श्रेष्ठले नेपालको इज्जत रहने गरी अनुशासित भएर काम गर्न आग्रह गरे । उनले विगतमा पनि नेपालीहरू इजरायल रोजगारीमा पठाउन पटक–पटक प्रयास भएपनि आफ्नो कार्यकालमा सफलता प्राप्ता भएको बताए । मन्त्री श्रेष्ठले इजरायल नेपालीहरूका लागि आकर्षक गन्तव्य मुलुक बन्ने विश्वास व्यक्त गरे ।

६३ महिला र ३६ पुरुष गरी ९९ जना नेपाली श्रमिक पहिलो चरणमा इजरायल प्रस्थान गरे । इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट सर्भिस’ का आधारमा पहिलो चरणमा इजरायल प्रस्थान गरेका हुन् । यसपछि माघ १५ र १६ गते दुई उडान हुनेछ । वैदेशिक रोजगार विभागले गत कात्तिकमा पाँच सय र मङ्सिरमा छ सय ७५ श्रमिकको नामावली रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो । छनोटमा परेका एक हजार एक सय ७५ मध्ये आठ सय २१ महिला र तीन सय ५४ पुरुषको अन्तिम नामावली प्रकाशित भएको छ । नेपाल सरकार र इजरायल सरकारबीच २०७७ असोज १४ गते श्रम सम्झौता भएको थियो ।

इजरायल जाने नेपालीले मासिक करिव २ लाख रुपैयाँ पारिश्रमिक पाउने छन् । मन्त्री श्रेष्ठले सुरक्षित पारिश्रमिक तथा सेवा–सुविधाका हिसाबले आकर्षक गन्तव्य मुलुक खोजी गरिरहेको बताए ।

प्रतिक्रिया