आइतबार, जेठ ६, २०८१

जुम्लाको चन्दननाथमा कोभिडविरुद्ध सचेतना

नेपालखोज २०७८ माघ ६ गते १३:३७

काठमाडौं । चन्दननाथ नगरपालिका जुम्लामा कोभिड-१९ विरुद्ध सचेतनाका लागि सरोकारवालाहरु सडकमा उत्रिएका छन् ।
चन्दननाथ नगरपालिका, युनिसेफ नेपाल, बास नेपाल, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको संयुक्त आयोजनामा बुधबार चन्दननाथ नगरपालिकामा कोभिड-१९ विरुद्ध अनिवार्य मास्क अभियान सञ्चालन गरिएको हो ।

‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै हो आजको अनिवार्य आवश्यकता’, ‘म पनि मास्क लगाउँछु र अरुलाई पनि लगाउन अभिप्रेरित गर्छु’ लगायत नारा अंकित ब्यानर र प्लेकार्डसहित चन्दननाथ नगरपालिकाका उप-प्रमुख अप्सरादेवी न्यौपाने महतसहित जनप्रतिनिधि, कर्मचारी, बास आबद्ध युवाहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको टोलीले बजार परिक्रमा गर्दै सचेत हुन नगरका बासिन्दालाई आह्‌वान गरेको हो ।

अभियानका क्रममा नगर उप-प्रमुखले सबैलाई मास्क लगाउन, खोप लगाउन र स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न अपिल गरेकी थिइन् । यसैगरी अभियानमा नेपाल प्रहरी तथा शसत्र प्रहरीले नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्न माइकिङ गर्दै आमनागरिकलाई अपिल गरेका थिए । अभियानका क्रममा तीन हजार बढी मास्क आमनागरिकलाई वितरण गरिएको थियो ।

जुम्लाको चन्दननाथ नगरपालिकामा कोभिड संक्रमितहरु देखापरेपछि जिल्ला प्रशासन कार्यालय जुम्ला, चन्दननाथ नगरपालिका, युनिसेफ नेपाल, बास नेपाललगायत सरोकारवालाले आमनागरिकलाई सजग गाउन विभिन्न अभियान तथा कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् ।

चन्दननाथ नगपालिकामा कोभिड-१९ विरुद्ध सचेतनाका लागि मास्क अभियान, स्टिकर अभियानसँगै नगरपालिकालाई कोभिड-१९ पूर्ण खोपयुक्त पालिका घोषणा गर्नेगरी अभियानलाई तीव्र बनाइएको छ ।

यसैबीच बासदले नेपालगन्जको भेरी अस्पतालमा सञ्चालित खोप केन्द्रमा सहयोग गर्दै युनिसेफ नेपालको सहयोग तथा नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा कोभिड-१९ विरुद्ध सचेतना अभियान चलाइरहेको बासका हेमराज भट्टले नेपालखोजलाई जानकारी दिए ।

प्रतिक्रिया