बिहीबार, वैशाख २०, २०८१

आहा रारा गोल्डकपमा एपीएफको विजयी सुरुवात

नेपालखोज २०७८ माघ ६ गते १८:३०

काठमाडाैं । पोखरामा आजदेखि सुरु भएको २०औं आहा रारा गोल्डकपमा आयोजक सहारा क्लबलाई २–० ले हराउँदै विभागीय टिम एपीएफले विजयी यात्रा सुरु गरेको छ । दर्शक बिना खेलाइएको खेलमा एपिएफको जितको लागि आवास लामिछाने र प्रदीप लामाले समान १–१ गोल गरेका छन् ।

खेलको १३औं मिनेटमा एपीएफका आवास लामिछानेले पहिलो गोल गर्दै खेललाई अग्रता दिलाएका थिए । युरोपियन फुटबल खेलको अनुभव बटुलेका लामिछाने प्रतियोगिताको पहिलो गोलकर्ता पनि बनेका छन् । खेलको सुरूवातमै १ गोलले पछि परेको पहिलो हाफको सम्पूर्ण समय दबाबमा रहेका थियो ।

निर्धारित पहिलो हाफमा १-० ले अग्रता लिएको एपिएफले दोस्रो हाफको पनि सुरुआतमै दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर बनाएको थियो । खेलको दोस्रो हाफ ५९ औं मिनेटमा एपीएफका शनिष श्रेष्ठको लामो पासलाई कन्ट्रोल गर्दै प्रदीप लामाले बललाई दोस्रो गोलमा परिणत गरेका थिए ।

खेलमा आवास लामिछाने म्यान अफ दी म्याच घोषित भएका छन् । मोफसलकै चर्चित फुटबल प्रतियोगिताका रुपमा लिइएको आहारारा गोल्डकपको यसवर्षको संस्करण दर्शकबिना नै भइरहेको छ ।

कोरोना महामारीका कारण प्रशासनले भिडभाड गर्न रोकेकाले दर्शक बिनै प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको दोस्रो खेल भोली हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ ।

१० वटा टिम सहभागी रहेको प्रतियोगिताको विजेताले १० लाख र उप–विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया