बिहीबार, वैशाख ६, २०८१

कोभिड-१९ लाई टाढा राख्न सफाइ तथा स्वच्छता !

नेपालखोज २०७८ माघ ७ गते ११:५३

के खानाबाट कोरोना भाइरस लाग्न सक्दछ ? अब कसरी लुगा धुने ? सांसारिक घरेलु कार्यहरू अनिश्चितता र चिन्ताको स्रोतमा परिणत भएका छन् किनकि परिवारहरूले आफना प्रियजनलाई सुरक्षित र स्वस्थ्य राख्दै आधारभूत कामहरू थाम्दै आएका छन् । भाइरसबारे व्याप्त गलत सूचनाले सबैलाई जोखिममा पार्छ र कल्पनाशील कुराबाट तथ्यलाई छुट्याउने तनावलाई समेत थप गर्छ ।

कोभिड-१९ को भाइरसको बारेमा अनुसन्धान भइरहेको समयमा, हामीलाई यो भाइरस व्यक्तिको श्वासप्रश्वासको छिटासँगको प्रत्यक्ष सम्पर्कको माध्यमबाट (खोकी र हाँच्छ्युमार्फत) र भाइरसले दूषित गरेको सतहहरूबाट संक्रमण हुन्छ भनेर थाहा छ । यो भाइरस विभिन्न सतहमा सतहअनुसार केही घण्टादेखि केही दिनसम्म बाँच्न सक्छ। राम्रो खबर के छ भने यसलाई साधारण किटाणुनाशकले मार्न सक्छ । अब यसको अर्थ घरका लागि के हो त ?

अभिभावकहरूलाई सहयोगी हात दिनका लागि, हामीले कोभिड १९ को बारेमा थाहा भएको विशेषज्ञ जानकारी र घरबाट पर राख्नका लागि सुझावहरू संकलित गरेका छौं ।

व्यक्तिगत सरसफाइ
साधारण स्वच्छताका उपायहरूले परिवारको र अन्य सबैको स्वास्थ्यलाई बचाउन मद्दत गर्दछ ।

आफ्नो अनुहार नछुने
आफ्नो आँखा, नाक र मुख छुनबाट जोगिने ।

आफ्नो हातमा खोकी र हाँच्छ्यु नगर्ने
खोकी वा हाँच्छ्यु गर्दा आफनो नाक र मुख नरम कागज वा कुहिनोले छोप्ने ।
प्रयोग गरिएको कागजलाई तुरुन्तै सुरक्षित स्थानमा फाल्ने ।

दुरी कायम गर्ने
खोकी वा हाँच्छ्यु गरिरहेको व्यक्तिबाट कम्तीमा १ मिटर (३ फिट) को दुरी कायम गर्ने ।

आफ्नो हात धुने, धुने अनि धुने
हो, तपाईंले यो जताततै सुन्दै हुनुहुन्छ किनकि यो रक्षाको सबैभन्दा राम्रो पंक्ति हो। कम्तीमा २० देखि ३० सेकेण्डसम्म साबुन पानीले बारम्बार हात धुने ।
नाक सफा गरेपछि, कागजमा हाँच्छ्यु गरेपछि, शौचालय प्रयोग गरेपछि, घरबाट बाहिर जाँदा वा घरभित्र आउँदा, खाना तयार गर्दा वा खानु अगाडि, मेकअप लगाउनुभन्दा पहिले, कन्टयाक्ट लेन्स प्रयोग गर्दा हात धोएर मात्र गर्नुहोस्।
यदि ह्याण्ड सेनिटाइजर प्रयोग गर्दै हुनुहुन्छ भने, कम्तीमा ६० प्रतिशत अल्कोहल भएको र हातको सबै भागहरूमा प्रयोग गरेको सुनिश्चित गरि, हात सुख्खा नभएसम्म २० देखि ३० सेकेण्ड सम्म हातमा राम्ररी लगाउनुहोस्। यदि हात फोहर देखिएमा सिधै साबुन पानीले हात धुनुहोस्।
के तपाईंलाई थाहा छ ? जबसम्म तपाईंले साबुन प्रयोग गरि आफ्ना हातहरू सही तरिकाले धुनुहुन्छ, चिसो पानी र तातो पानी जीवाणु र भाइरसहरू मार्न समान रुपले प्रभावकारी हुन्छन्।

घर वरपरको सफाइ
तपाईंको घरमा संक्रमणको जोखिम कम गर्न नियमित रुपमा बारम्बारमा छोइने सतहहरू सफा गर्नु र किटाणरहित बनाउनु एक महत्त्वपूर्ण सावधानी हो ।

उत्पादन प्रयोग गर्दा पन्जा लगाउने र हावाको राम्रो आवतजावत भएको सुनिश्चित गर्ने जस्ता सावधानीहरूसहित सुरक्षित र प्रभावकारी प्रयोगका लागि सफाइ उत्पादन निर्देशनहरूको पालना गर्नुहोस् ।

सफा गर्नुपर्ने र किटाणुरहित बनाउनुपर्ने बारम्बार छोइने सतहहरू
हरेक घर फरक हुन्छन् तर ढोकाको ह्यान्डलहरू, टेबलहरू, कुर्सीहरू, रेलिङ, भान्सा र शौचालयको सतहहरू, धारा, बत्तीको स्विचहरू, मोबाइल फोन, कम्प्युटर, टयाम्बलेट, किबोर्ड, रिमोट कन्ट्रोल, खेल नियन्त्रक तथा मनपर्ने खेलौनाहरू जस्ता सतहहरू सामान्यत: उच्च स्पर्स सतहहरूमा समावेश हुन्छन् ।

सफा र किटाणुरहित बनाउन के प्रयोग गर्ने
यदि सतह फोहोर छ भने, पहिले त्यसलाई साबुन वा डिटरजेन्ट र पानीले सफा गर्नुहोस् । त्यसपछि अल्कोहल (करिब ७० प्रतिशत) भएको किटाणुनाशक उत्पादन वा ब्लिच प्रयोग गर्नुहोस् । भिनेगार तथा अन्य प्राकृतिक वस्तुहरू सिफारिस गरिँदैन ।

धेरै ठाउँहरूमा किटाणुनाशक स्प्रे र पुछ्ने कागज भेट्टाउन गाह्रो हुनसक्छ । यस्तो अवस्थामा, निरन्तर साबुन र पानीले सफा गर्नुहोस् । घरेलु ब्लिचलाई केही हदसम्म पातलो बनाएर प्रयोग गर्न सकिन्छ ।

कसरी किटाणुरहित गर्ने
तपाईंले सफा गर्न प्रयोग गर्ने सामग्रीहरू सतहमा प्रयोग गरिसकेपछि तुरुन्तै सफा गर्नु महत्त्वपूर्ण छैन । धेरै किटाणुनाशक उत्पादनहरू जस्तै पुछ्ने कागज स्प्रेहरूलाई प्रभावकारी बनाउनका लागि केही मिनेटसम्म सतहमै राख्नुपर्छ । तपाईंहरूले मोबाइल फोन तथा अन्य विद्युतीय उत्पादनजस्ता संवेदनशील वस्तुहरूलाई हानि हुनबाट जोगाउन सिफारिस गरिएअनुसारका निर्देशनहरू पढेर प्रयोग गर्नुहोस् । विद्युतीय उपकरणहरूका लागि पुछ्ने कपडा प्रयोग गर्नुहोस् ।

लुगा धुने
कोभिड १९ भाइरस कपडामा कतिन्जेल बाँच्न सक्छ भन्ने कुरा अहिलेसम्म अस्पष्ट छ, तर धैरै कपडाका वस्तुहरूमा प्लास्टिक र धातु तत्त्वहरू छन् जसमा यो केही घण्टादेखि धेरै दिनसम्म बाच्न सक्छ । सावधानी र सामान्य ज्ञान प्रयोग गर्नुहोस् । घरभित्र प्रवेश गर्दा जुत्ता फुकाल्ने, भिडभाडमा गएर आएपश्चात सफा लुगा लगाउने र साबुनपानीले तुरुन्तै हात धुने जस्ता राम्रो अभ्यासहरू विचार गर्नुहोस् ।

घरमा लुगा धुने
तन्ना, रुमाल तथा लुगाहरू नियमित रुपमा सफा गर्ने ।
-हावाबाट भाइरस फैलाउने सम्भावनालाई कम गर्न फोहोर लुगालाई नहल्लाउने ।
-उपयुक्त तातो पानी मिलाएर र सुक्खा वस्तु छुट्टै राखेर लुगालाई साबुन वा डिटर्जेन्टले धुनुहोस् । यी दुवै तरिकाले भाइरसलाई नष्ट गर्न मद्दत गर्दछ ।
-हात साबुन र पानीले धुनुहोस् वा तुरुन्तै अल्कोहल भएको ह्याण्ड रब प्रयोग गर्नुहोस् ।
-धुने लुगा हाल्ने झोला र टोकरीलाई सफा वा किटाणुरहित बनाउनुहोस् । डिस्पोजेबल झोलामा धुने लुगा संकलन गर्नेबारे सोच्नुहोस् ।

घरबाहिर लुगा धुने
यदि तपाईंको घरबाहिर रहेका लुगाधुने स्थानहरूको उपयोग गर्न आवश्यक छ भने, समझदारीका साथ सावधानी अपनाउनुहोस् :
-बाहिर बिताउने समय कम गर्न घर छोड्नुअगाडि धुने लुगा तयार गर्ने ।
-मानिसहरू कम हुने समयमा जाने प्रयास गर्ने ।
-अन्य व्यक्तिहरूसँग शारीरिक दूरी कायम गर्ने ।
-सम्भव भए, डिस्पोजेबल पन्जाको प्रयोग गर्ने, आफूले प्रयोग गर्ने सबै उपकरणहरूको सतहलाई किटाणुरहित बनाउने र आफ्नो अनुहार नछुने ।
-भित्र लुगा धुने सुविधा प्रयोग गर्दा, सक्नुहुन्छ भने, लुगा धुन नसकिएसम्म बाहिर नै प्रतीक्षा गर्ने ।
-लुगा घरमै पट्याउने ।
-तपाईंको हात साबुन र पानीले धुने वा तुरुन्तै अल्कोहल भएको ह्यान्ड रब प्रयोग गर्ने ।
-धुने लुगा हाल्ने झोला र टोकरीलाई सफा वा किटाणुरहित बनाउने ।
-डिस्पोजेबल झोलामा धुने लुगा संकलन गर्ने ।
यदि तपाईंको लुगा धुने सुविधाहरूमा पहुँच छैन भने, आफ्नो कपडा घरमा साबुन वा डिटरजेन्ट सक्दो तातो पानीले धुनुहोस् ।

खाना बनाउने
हालसम्म कोभिड-१९ भाइरस खाना वा खानाको प्याकिङबाट व्यक्तिमा संक्रमण हुन्छ भन्ने कुनै प्रमाण छैन, तर भाइरसले दूषित पारेको सतह वा वस्तु छोएर त्यसपछि अनुहार छोएमा व्यक्तिलाई संक्रमण हुने सम्भावना हुन्छ । अन्य व्यक्तिहरूसँग बाहिरी खाना किन्दा वा खाना डेलिभरी लिँदा (स्थानीय संक्रमण भएको क्षेत्रबाट डेलिभरी प्राप्त गर्दा) हुने नजिकको सम्पर्कबाट ठूलो खतरा उत्पन्न हुन्छ । सधैं जस्तो, कुनै पनि खानाबाट हुन सक्ने रोगहरूबाट बच्न खानालाई समाउने क्रममा राम्रो स्वच्छता महत्त्वपूर्ण हुन्छ ।

खाना प्याकिङ र समाउने सावधानी
-कुनै पनि अनावश्यक प्याकेजिङ हटाउने र बिर्को भएको फोहोरको भाँडामा हाल्ने ।
-खानालाई प्याकेजिङबाट निकालेर, सफा प्लेटमा राखेर, प्याकेजिङलाई फाल्ने ।
-क्यानजस्ता प्याकेजिङहरू खोल्नु वा भण्डारण गर्नुअगाडि किटाणुनाशकले सफा गर्ने ।
-प्याकेजिङ नगरिएका उत्पादनहरू जस्तै फल र तरकारीहरूलाई राम्रोसँग धाराको पानीमा धुने ।
-हात साबुन र पानीले धुने वा तुरुन्तै अल्कोहल भएको ह्यान्ड रब प्रयोग गर्ने

खानाको स्वच्छताका लागि
-कुनै पनि खाना तयार गर्नुअघि कम्तीमा २० सेकेन्डसम्म साबुन र पानीले राम्ररी हात धुने ।
-नपकाएको माछा र मासु काट्नका लागि अलग काट्ने बोर्डको प्रयोग गर्ने ।
-सिफारिस गरिएको तापक्रममा खाना पकाउने ।
-सम्भव भएसम्म, नाश हुन सक्ने वस्तुलाई रेफ्रिजिरेटर वा फ्रिजरमा राख्ने र वस्तुको उत्पादनको समाप्ति मितिलाई ध्यान दिने ।
-खानाको फोहोर र प्याकेजिङलाई कीराहरूलाई आकर्षित गर्न नसक्ने गरी उचित तथा स्वच्छताको हिसाबले फेरि प्रयोगमा ल्याउन मिल्ने वा नष्ट गर्ने ।
-खाना खानुअगाडि कम्तीमा २० सेकेन्डसम्म साबुन र पानीले राम्ररी हात धुने र बालबालिकाहरूले पनि त्यही गरेको निश्चित गर्ने ।
-सँधै सफा भाँडा र प्लेटहरूको प्रयोग गर्ने ।
स्रोत : युनिसेफ

प्रतिक्रिया