सोमबार, वैशाख २४, २०८१

काठमाडौं उपत्यकामा आज रातिदेखि जोरबिजोर प्रणाली, के गर्न पाइन्छ, के पाइँदैन ?

नेपालखोज २०७८ माघ ७ गते ६:३९

काठमाडाैं । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको सङ्क्रमण तीव्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज रातिदेखि जोरबिजोर प्रणाली लागु गर्ने भएको छ ।

काठमाडौं उपत्यकामा सार्वजनिक र निजी सवारी साधनहरु (दुई पाङ्ग्रेसहित) जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्रणालीमा सञ्चालन गर्ने आदेश जारी गरिएको काठमाडौँका निमित्त प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले जानकारी दिइन् ।

त्यसैगरी सार्वजनिक सवारीमा सीट क्षमताभन्दा बढी यात्रु नराख्न, सबै यत्रुलाई मास्क अनिवार्य गर्न, सवारी साधानको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्ने गरी सेनिटाइजरको व्यवस्था गर्नुपर्ने आदेशमा उल्लेख छ ।

यसैगरी जिल्लाभित्रका सबै सार्वजनिक र सरकारी निकायमा आलोपालेमा सेवा प्रवाहको उचित प्रबन्ध कार्यालय प्रमुखले गर्ने आदेशमा उल्लेख छ । त्यस्तै औषधि, स्वास्थ्य सामाग्री बोकेका सवारीसाधनहरू, एम्बुलेन्स, दमकल, सववाहन, ग्यास पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन, पशुपंक्षिका दाना, अन्डा फलफूल, खाद्यान्न, तरकारी, माछामासु बोकेका सवारी साधनमा भने जोरबिजोर प्रणाली लागु हुने छैन ।

यसैगरी सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला, मेला, सम्मेलन, सिनेमाहल, डान्सबार, दोहोरी, नाचघर, क्यासिनो, क्लब, हेल्थक्लव, जीमखाना, रंगशाला, संग्राहलय, पुस्तकालय चिडियाखाना, कभर्ड हल, स्वीमिङ पुल,फुटसल, जात्रा, महोत्सव, पटकेहाटबजार मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रम गर्न रोक लगाइएको छ ।

शैक्षिक संस्थाहरूले भौतिक (तालिम केन्द्र, कोचिङ सेन्टर ट्यूसन,कलेज,विद्यालय) उपस्थितिमा गर्ने पठन पाठन गर्न पाउने छैनन् । विश्वविद्यालय/विद्यालय/शिक्षालयका परीक्षा, जनशक्ति भर्नाका परीक्षा लगायतका किसिमका परीक्षाहरू गर्न पनि रोक लगाइएको छ ।

तर विश्वविद्यालय आयोगको पूर्वनिर्धारित विशिष्ठ प्रकृतिको छनौट परीक्षा (विदेशी भाषा परीक्षासमेत) स्वास्थ्य मापदण्डको पालना गरी गराई सञ्चालन सकिने आदेशमा भनिएको छ ।

यसैगरी सपिङ मल, डिपार्टमेन्टल स्टोर, सुपर मार्केट र सबै प्रकारका पसलमा एक पटकमा २० जना भन्दा बढी जान रोक लगाइएको छ । र, त्यसरी जान पनि पूर्ण खोप लगाएको कार्ड देखाउनुपर्ने छ ।

प्रतिक्रिया