शुक्रबार, चैत १६, २०८०

उपल्लो डोल्पाका सर्वसाधारणले कोरोनाविरुद्धको खोप नपाउने

नेपालखोज २०७८ माघ ७ गते ८:१२

जाजरकोट । महामारीका रूपमा फैलिएको कोभिड-१९ विरुद्ध लगाइने खोप उपल्लो डोल्पाका सर्वसाधारणले नपाउने भएका छन् । बाह्र वर्षदेखि १७ वर्षसम्मका बालबालिकाले मोडर्ना खोप र १७ वर्षमाथिका सर्वसाधारणले भेरोसेल, ६० वर्षमाथिका सर्वसाधारणलाई बुस्टर खोप अन्य पालिकामा लगाइरहेको भए पनि उपल्लो डोल्पाका तीन पालिकाका कुनै पनि सर्वसाधारणले खोप लगाउन पाएका छैनन् ।

स्वास्थ्य सेवा कार्यालय डोल्पाले यही माघ १० देखि १३ गतेसम्म खोप लगाउन मध्य र तल्लो डोल्पाका सर्वसाधारणलाई मात्र सूचना निकालेको छ । उपल्लो डोल्पामा खोप लगाउन नसकिने भन्दै कार्यालयले सूचनामा उल्लेख गरेको छ । सीसीएमसीको बैठकले माघ १६ देखि २० गतेसम्म विद्यार्थीलाइ खोप लगाउनका लागि विद्यालय खोल्ने निर्णय गरिएको थियो ।

सीसीएमसीसीले निर्णय गरे पनि उपल्लो डोल्पामा विद्यार्थीले यो समयमा खोप नपाउने भएका छन् । त्यस्तै खोप कार्ड नभएको व्यक्तिले माघ ७ देखि सरकारी सेवा लिन नपाउने निर्णयले उपल्लो डोल्पाका सर्वसाधारण पीडित हुने भएका छन् । भारी हिमपातका कारण उपल्लो डोल्पाका सर्वसाधारणले कोभिडविरुद्धको खोप लगाउन पाएका छैनन् ।

उपल्लो डोल्पामा खोप लिएर तीन पालिकाका सर्वसाधारणलाई लगाउन नसक्ने अवस्था आएपछि यहाँका सर्वसाधारण खोपविहीन बन्नुपरेको हो । हिमपातका कारण उपल्लो डोल्पा बन्धकजस्तै भएको छ । बाटो हिउँले पुरिदिएपछि कुनै पनि सेवा उपल्लो डोल्पाका सर्वसाधारणले पाउन सकेका छैनन् । त्यस्तै अन्य बालबालिकालाई लगाइने नियमित खोप, सुरक्षित सुत्केरी सेवा कात्तिकदेखि फागुन मसान्तसम्म नै बन्द छ ।

शे–फोक्सुण्डो, छाकाताङसुङ र डोल्पोबुद्ध गाउँपालिकाभित्रका सर्वसाधारण हिमपात र चिसोका कारण पाँच महिना सदरमुकाम दुनैलगायत देशका विभिन्न ठाउँमा जाने काम पूर्णरूपमा ठप्प हुने गर्दछ । त्यस्तै ती पालिकामा खटिने स्वास्थ्यकर्मी, महिला स्वयंसेविकले समेत खोप नपाएको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक टेकबहादुर गुरुङले बताए । रासस

प्रतिक्रिया