मंगलबार, वैशाख ११, २०८१

के म खुसी छु ?

दिनकर नेपाल २०७८ माघ ७ गते १३:४६

मलाई आज यदि ‘के म जीवनमा जहाँ छु खुसी छु त ? भन्ने प्रश्न गरियो भने मेरो अलिकति पनि सोच्दै नसोची जवाफ हुनेछ -हजुर, सय प्रतिशत । किन ? वास्तवमा आज मसँग समस्याहरुको चाङ छ । आर्थिक संकट छ- वा भनौं अभाव छ । गर्न खोजेका प्रोजेक्टहरुको झन्झट छन्, अड्केका कामहरु छन्, पुरा गर्न नसकेका जिम्मेवारीहरु छन्, आफ्नै कमिकमजोरीहरु बारम्बार देखाउने अनेक मानकहरु छन् । आफ्नो उमेर समूहमा जुन तहको कम्फर्टेबल अवस्था मैले आर्जन गर्न पर्ने हो, त्यो गर्न नसकेको अपुरोपन छ ।

यी सब हुँदा हुँदै पनि म किन खुसी छु त ?

के यो मेरो एस्केपिज्म हो ? मलाई लाग्छ – होइन । म आज खुसी छु किनकि मसँग जीवनमा स्पष्ट ध्येय छ । र पारिवारिक सन्तुलन छ । सायद – जीवनमा स्पष्ट ध्येय हुनु, र त्यो ध्येयका साथ आउने व्यक्तित्वलाई समग्रमा आफ्ना वरिपरिका मान्छेले, परिवार र साथीभाईले स्वीकार गर्नु – यो जस्तो मीठो लय जीवनमा अरु हुँदैन । मेरो ध्येय सिकाई हो -निरन्तरको सिकाई ।

म राजनीतिमा छु – किनकि मलाई लाग्छ हामीले आजको समयमा विश्वस्तरको सिकाई हाम्रो राजनितिमा लगाईएको भोग्न पाउनुपर्छ । म कृषिमा छु यस् कारण किनकि हामीले हाम्रो पारम्परिक उत्पादन प्रणालीमा आजको ज्ञान लगाएर अद्यावधिक गर्नपर्छ । म शिक्षामा रुचिपूर्वक संलग्न हुन चाहन्छु किनकि शिक्षा नै त्यो बाटो हो जस्को माध्यमबाट सिकाईले समाज डोर्याउँछ । र यो सबै कुराबाट आएको सिकाईले राजनीतिलाई मार्गदर्शित गर्नुपर्छ ।

यो ध्येयको स्पष्टताका कारण म खुसी छु । र, मलाई लाग्छ जीवनमा आफ्नो स्पष्ट ध्येयमा समर्पित भएर लाग्नेभन्दा बढी सन्तोषजनक अरु केही हुनसक्दैन। योभन्दा ठूलो प्राप्ति र मुक्ति : दुवै छैन । अर्को महत्त्वपूर्ण कुरा छ ‘म आफ्ना सिद्धान्तहरु बाँच्न पाएको छु । जुन दिन म विश्वस्त भएँ कि नेपाली नागरिकले विदेशी सेनामा काम गर्नु ठिक होइन, मैले छोड्न सकें।’ आँफुलाई विश्वास भएको कुरा एक थोक, र बाँचेको जीवन अर्कै थोक -यो खालको ढोंग गरेर मलाई कहिल्यै बाँच्न परेन । सायद यो मेरो खुसीको अर्को कारण हो ।

तेस्रो महत्वपूर्ण कुरा छ – असफलताको डर नहुनु । मलाई लाग्छ – सिकाईको ध्येय हुँदा असफलताको डर हुँदैन । हरेक कुरा केही आधारभूत सिद्धान्तहरुमा स्पष्ट भएर गर्ने हो र बाँकि खेल सरह खेल्ने हो । हार जीत, नयाँ परिस्थिति वा सुखद परिणाम आदि त त्यो खेलको हिस्सा हो – लिने हो ।

आदर्शवादी हुनु र आदर्श बाँच्नुको बीच जुन खाडल छ -मैले सायद त्यो खाडलमा पूल हाल्न सफल भएको छु। म जे छु, आफ्ना कमी कमजोरीहरुका साथ पूर्ण छु र यसरी हिँडिरहन्छु । सायद, यो मेरो आफूले आफ्नो बारेमा बनाएको तस्बिरको म नजिक हुन पाएको छु, त्यही भएर खुसी छु ।

प्रतिक्रिया