बिहीबार, वैशाख २०, २०८१

पत्रकार विश्वकर्माको निधन प्रकरण छानबिन गर्न युनिमीको माग

नेपालखोज २०७८ माघ ७ गते १५:०८

काठमाडौं । जिम्मेवार निकायको लापरबाहीका कारण पत्रकार लालबहादुर (एलबी) विश्वकर्माको निधन भएको भन्दै युनिमी नेपालले घटनाको छानबिन गर्न माग गरेको छ । निरन्तर काममा क्रियाशील पत्रकारले पर्याप्त उपचारको अभावमा जीवन गुमाउने अवस्था आउनु आफैंमा लज्जाजनक र दुःखद भएको युनिमीको ठहर छ ।

युनिमीका अध्यक्ष गोविन्द धितालले शुक्रबार (आज) वक्तव्य प्रकाशित गर्दै अछाम घर भई हाल काठमाडौंमा रहेर टीभी टुडेमा कार्यरत पत्रकार विश्वकर्माको बिहीबार उपचार नपाएर निधन भएको खबरले आफूलाई मर्माहत बनाएको उल्लेख गरेका छन् । ‘बिरामी भएपछि सिभिल अस्पतालमा गएको‚ अस्पतालले पीसीआर गर्नका लागि एक हजार रुपैयाँ मागेको तर पैसा नभएकाले पीसीआर नगरी घरमा फर्किएको र राति स्वास्थ्य अवस्था थप जटिल भएपछि पाटन अस्पताल लागिएकोमा त्यही उहाँको निधन भएको घटनाले उहाँको निधनमा अस्पताल र उहाँ कार्यरत संचार गृहको वेवास्ता तथा लापरबाही स्पष्ट हुन्छ‚’ वक्तव्यमा भनिएको छ ।

उनको निधनका बारेमा विभिन्न कोणबाट प्रश्नहरू उठेकाले तत्काल निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न र आगामी दिनमा यस्ता घटना नदोहोरिने सुनिश्चितता गर्न पनि युनिमी नेपालले सरोकारवाला सबैसँग माग गरेको छ । साथै पत्रकार विश्वकर्माको परिवारलाई उचित राहतको व्यवस्था गर्न पनि युनिमी नेपालले अनुरोध गरेको छ ।

प्रतिक्रिया