बिहीबार, वैशाख २०, २०८१

स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

नेपालखोज २०७८ माघ ७ गते १६:१७

काठमाडाैं । सर्वसाधारणको लापरबाहीले स्वास्थ्यकर्मीहरुमा कोभिड संक्रमण बढ्ने भन्दै सबैलाई सावधानी अपनाएर काम गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ध्यानाकर्षण गराएको छ ।

स्वास्थ्यकर्मीहरुमा कोभिड संक्रमणको दर बढ्न गई स्वास्थ्य सेवा प्रवाहमा प्रत्यक्ष असर गर्ने भन्दै आम नागरिकहरुलाई स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न आग्रह गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले ओमिक्रोन भाइरस स्वास्थ्यका हिसाबले कम जोखिमपूर्ण रहेपनि संक्रमण दर बढाइरहेको बताए ।

उनले आम मानिसहरुले स्वास्थ्य सम्बन्धी सरकारले बनाएका मापदण्ड पूर्ण पालना गर्ने र कोरोनाबिरुद्धको खोप अनिवार्य लगाएमा बढ्दो कोरोना संक्रमणलाई कम गर्न सकिने बताए । सह प्रवक्ता अधिकारीले ओमिक्रोन भेरियन्ट तीव्र संक्रामक रहेकोले घर परिवारमा पनि कोभिडबाट आफू बच्न र अरुलाई पनि बचाउनका लागि स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने र आफूलाई संक्रमण भए ७ दिनअघिसम्म भेटघाट गरेका मानिसहरुलाई सचेत गराउन अनुरोध गरे ।

उनले सरकारले स्वास्थ्यका पूर्वाधारहरु बढाएपनि स्वास्थ्यकर्मीहरु गुणात्मक रुपमा बढाउन असहज भएको बताए । सह प्रवक्ता अधिकारीले असावधानीका कारण कोरोनाबाट हुने जनधनको क्षति हुन नदिन सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग र सचेत रहनुपर्ने बताए।

सह प्रवक्ता अधिकारीले कोभिड-१९ संक्रमण पुष्टि भएको ७ दिनसम्म अनिवार्य रुपमा आइसोलेशनमा बस्नुपर्ने र त्यसपछि पनि लक्षण देखिए थप आइसोलेशनमा बस्न सुझाव दिए । उनले कोरोना भएको ७ दिनसम्म आइसोलेसनमा बसेको छ र सातौँ दिनपछि कुनै लक्षण देखिएको छैन भने कोरोना परीक्षण गराउनुको कुनै औचित्य नरहेको पनि स्पष्ट पारे । सह प्रवक्ता अधिकारीका अनुसार ७ दिनमा पनि लक्षण भएको खण्डमा भने आफूमा संक्रमण सक्रिय छ भन्ने बुझेर १३ दिनसम्म आइसोलेशनमा बस्नुपर्ने बताए ।

सहप्रवक्ता अधिकारीले अतिरिक्त खोप सरकारले उपलब्ध गराइरहेकोले पहिला लगाएको खोप मात्रै लगाउनु पर्ने सुझाव दिनुभयो । उनले कोभिशील्ड र अस्ट्राजेनिका नाम फरक भए पनि बनाउने प्रक्रिया एकै भएकोले यी दुई खोपमा भने रोजेर लगाउन सकिने बताए ।

सहप्रवक्ता अधिकारीले विभिन्न अध्ययन र विश्व स्वास्थ्य संगठनले भनेअनुसार नै नेपाल सरकारले अतिरिक्त कोरोनाविरुद्धको खोप लगाउने सम्बन्धी निर्णय गरेकोले पहिलो र दोस्रो डोजमा लगाएको खोप नै अतिरिक्त डोजको रुपमा लगाएमा मात्रै त्यसले सकारात्मक प्रतिक्रिया दिने बताए ।

प्रतिक्रिया